गणतन्त्र ललकार्दै राप्रपा नेता लिङ्देनले भने–‘यो र्याली कास्टिङ मात्रै हो’
प्रकाशित मिति
२० मंसिर २०७७, शनिबार २१:०९
विर्तामोड, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा सांसद् राजेन्द्र लिङ्देनले मुलुकमा केही समययता राजसंस्थासहितको हिन्दु राज्यको पक्षमा भइरहेको जुलुस नारा अझ ठूलो आन्दोलनको आँधीवेहरीको पूर्वतयारी भएको बताएका छन् ।
देशका विभिन्न भागमा राष्ट्रबादी नागरिक, वीर गोर्खाली लगायतका संस्थाको आयोजनामा पूर्वराजाको पक्षमा प्रदर्शन जारी रहेका बेला राप्रपाले झापामा आज पहिलोपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीको गद्दीमा बसाउने दावीका साथ मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।
विर्तामोडमा मोटरसाइकल र्याली समापन कार्यक्रमा बोल्दै राप्रपा नेता लिङ्देनले भने–‘यो कास्टिङ मात्र हो, गणतन्त्र र संघीयतालाई प्राणभन्दा प्यारो ठान्नेहरुलाई भन्न चाहन्छु–यो प्रारम्भ मात्र हो ।’
उनले देशमा चलिरहेको राजाबादी लहरमा झापा चुप लागेर बस्न नसक्ने भएको हुँदा मोटरसाइकल र्याली गरिएको जनाउँदै अब काठमाडौं घेराउ गर्न तयार रहन जनसमुदाय (मास)लाई आग्रह गरे ।
‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता ल्याउने त्यही काठमाडौं होइन ?,’ उनले भने–‘अब काठमाडौं घेर्नका लागि अब यसरी नै र्याली लिएर जानुपर्छ ।’
नेपालको सन्दर्भमा अहिलेको संविधान असफल भइसकेको र गणतन्त्रबादी नेताहरु भ्रष्ट र विदेशीका अरौटे भरौटे भइसकेको हुँदा व्यवस्था नै परिवर्तन गरेर राजसंस्थासहितको हिन्दु राज्य आवश्यक रहेको राप्रपा नेता लिङ्देनको जिकीर थियो ।
उनले नेकपाका दुई अध्यक्षको झगडाप्रति कडा व्यङ्ग्य गर्दै एकले अर्कोलाई भ्रष्टाचारी र हत्यारा भनिरहँदा नेपाली जनताले टुलुटुलु हेरिरहनु परेको टिप्पणी गरे ।
राप्रपाका जिल्ला सचिव केशव ओझाले सञ्चालन गरेको कोणसभामा पार्टीका पूर्व सहमहामन्त्री राम थापाले गणतन्त्रबादी नेताहरुलाई जेलमा हाल्नु पर्ने र पूर्वराजालाई नारायणहिटीमा ल्याएर सिंहासनमा राख्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
राप्रपाको मोटरसाइकल र्याली काँकरभिट्टाबाट सुरु भएर विर्तामोडमा समापन भएको थियो ।

