नाका खुलाउन अब झन् कडा आन्दोलन हुने

  प्रकाशित मिति
२ पुष २०७७, बिहीबार ११:३५


काँकरभिट्टा, २ पुस । सीमा नाका खुलाउनु पर्ने माग राख्दै मेचीनगरबासी आन्दोलित भएका छन् । होटल, ट्राभल र यातायात व्यवसायीले सुरु गरेको यो आन्दोलनले अब नागरिक आन्दोलनको स्वरुप लिने भएको छ ।

हवाई, शिक्षण संस्था, बजार, यातायातलगायत अधिकांश क्षेत्र खुला भइसक्दा कोरोना नियन्त्रणका नाममा नाका मात्र खुला गर्न बाँकी छ ।

नाका नखुल्दा सीमावर्ती क्षेत्रमा व्यवसायमा निर्भर स्थानीयवासीको अवस्था दयनीय रहेको हुँदा तत्काल सीमा खुलाएर नाका व्यवस्थित गराउनु पर्ने मेचीनगरबासीले माग गरेका छन् ।

अब नागरिक आन्दोलन

होटल, यातायात र ट्राभल व्यवसायीहरुको पहलमा आज काँकरभिट्टामा भएको सर्वपक्षीय भेलाले नाका खुलाउन नागरिक स्तरको आन्दोलन गर्ने निर्णय गरेको छ ।

भेलाले होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकाुमार श्रेठ (गोपाल)को अध्यक्षतामा ‘मेचीनगर नागरिक खुला सीमा संघर्ष समिति’ गठन गरेको छ ।

समितिमा मेचीनगरका अधिकांश व्यवसायी तथा सामाजिक गतिविधिमा संलग्न संघ संस्थाको प्रतिनिधित्व रहेको छ ।

समितिले आजै बैठक बसी नाका खुलाउन सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रहरी हस्तक्षेपको भर्त्सना

व्यवसायीहरुले बुधवार काँकरभिट्टामा भएको शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको भेलाले भर्त्सना गरेको छ ।

भेलामा सहभागी मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष बीना तामाङले धर्नामा बसेका महिलाहरुमाथि प्रहरीले हातपात गरेको जानकारी गराइन् ।

आन्दोलन कडा तर शान्तिपूर्ण हुने

भेलाका वक्ताहरुले नागरिक आन्दोलन सभ्य, शान्तिपूर्ण र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् ।

जनता समाजबादी पार्टी मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले साझा व्यानर र लक्ष्यका साथ आन्दोलिनमा होमिन आह्वान गर्दै दलहरुको समर्थन रहने बताए ।

होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य राजु अधिकारीले आन्दोलनलाई उच्छृङ्खल र भड्काउतर्फ जान नदिई शान्तिपूर्ण बनाउन सुझाव दिएका छन् ।

मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललितकुमार बोहोराले व्यवसायीहरुको हकहितका लागि चेम्बर अग्रपङ्तिमा उभिएर आन्दोलनमा होमिन तयार रहेको बताए ।

भेलामा पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्की, ज्ञानेन्द्र घिमिरे, भुपाल ओली, रविन बस्नेत, केशव गिरी, केशव दाहाल, कृष्णप्रसाद बजगाईलगायतले नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

भेला होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा संघकै कार्यालयमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज