निर्वाचन आयोग दलका प्रतिनिधिसँग छलफल गर्दै
प्रकाशित मिति
४ माघ २०७७, आईतवार १२:२०झापा, ४ माघ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफल गर्न निर्वाचन आयोगले आज बोलाएको छ ।
आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनबारे छलफल गर्न दल प्रमुखहरूलाई आइतबार बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेर वैशाखको उक्त मितिमा निर्वाचन गर्ने तय गरेका थिए ।
तर, यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगको कार्यालयले भने निर्वाचन सम्बन्धी तयारी थालेको छ ।
‘आज दिउसो आयोगको कार्यालयमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।
मतदाता नामावली अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र लगायतका विषयमा दलका प्रमुखहरूसँग आयोगले छलफल गर्न लागेको बुझिएको छ ।
निर्वाचन सम्बन्धी अहिलेसम्म भएका गरेका तयारी बारे पनि आयोगको कार्यालयले जानकारी दिने कार्यक्रम रहेको उनको भनाइ छ ।