नर्वेमा कोरोना खोप लगाएका २९ जनाको मृत्यु

  प्रकाशित मिति
४ माघ २०७७, आईतवार १३:१५


झापा, ४ माघ । नर्वेमा कोरोना भाइरस विरुद्धको खोप लगाएका २९ जनाको मृत्यु भएको छ ।

ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रायः ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो ।

मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।

कोरोना खोप दिइएका २९ जनाको मृत्यु भएसँगै नर्वेका अधिकारीहरुले खोपबारे चासो व्यक्त गरेका छन् । अहिलेसम्म नर्वेमा ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् ।

नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएकाले २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको बताएको छ ।

डेलीमेलका अनुसार मृत्यु हुनेमध्ये २३ जनाको मृत्यु खोपको साइड इफेक्टको कारण हुन सक्ने नर्वेको स्वास्थ्य प्रमुखले बताएको उल्लेख गरेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित नरहेको बताएको छ । यद्यपि अहिले देखिएको नतिजालाई भने नकार्न नसकिने एजेन्सीले बताएको छ ।

एजेन्सीका अधिकारीहरुले अब गम्भीर समस्या देखिएका मानिसहरुलाई खोप दिँदै व्यक्तिगत अनुमति लिनु अनिवार्य गरिएको बताएका छन् ।

फाइजरको कोरोना खोप परीक्षणको क्रममा पनि ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई समावेश गरिएको थिएन ।

त्यसैले ज्येष्ठ नागरिकहरुलाई यो खोप दिँदा समस्या उत्पन्न हुन सक्ने केहीको भनाइ छ । नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो ।

नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकी लगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज