स्वादिलो भक्का : पिरो चटनीमा चोब्दै खाँदै

  प्रकाशित मिति
४ माघ २०७७, आईतवार २०:२६


झापा, ४ पुस (रासस) : हात कक्रक्क पार्ने पुस–माघको ठिहीमा हरेक बिहान झापाका गाउँ सहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले मनै लोभ्याउँछ ।

आदिबासी राजबंशी समुदायले परापूर्वकालदेखि खाँदै आएको यो भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र अन्ुपम स्वाद भेटिने हुँदा बच्चादेखि पाकासम्मका लागि विहानी खाजाको रुपमा भक्का लोकप्रिय बनेको छ ।

धानको चामललाई पिठो बनाएर माटाको हण्डी (भाडा)मा पकाइने बटुका आकारको सुख्खा परिकार नै भक्का हो । राजबंशी भाषामा यसलाई ‘भाक्का’ भनिन्छ ।

पहिले पहिले बाफ उड्दै गरेको तात्तातो भक्का ढाकीमा बोकेर राजबंशी महिलाहरु गाउँतिर बेच्न लैजान्थे । आफुले बाल्यकालमा केराको पातमा राखेर भक्का खाएको सम्झना आइरहने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले बताए ।

‘‘पिरोपिरो चटनीमा चोबेर खाँदाको स्वाद नै अर्कै हुन्छ,’’ बिगत चालीस वर्षदेखि भक्का खाँदै आएको अनुभूति सुनाउँदै झापाका पुराना पत्रकार काजी भन्छन्–‘‘राजबंशी समुदायका महिलाहरुले मात्र भक्का पकाउने र बेच्ने गर्छन्, यसमा त्यो समुदायको सांस्कृतिक पहिचान गाँसिएको छ ।’’

अहिले व्यावसायिक रुपमा भक्काको उत्पादन हुन थालेको छ । ठूला होटल र रेस्टुरेन्टहरुमा यसको विक्री बढेको छ । यसको इतिहास, परम्परा र पहिचानका लागि भक्काको गहन खोज तथा अनुसन्धान जरुरी भएको पत्रकार काजीको धारणा छ । अनुसन्धान भएपछि भक्कालाई राजबंशी जातिको नेपाली परिकारको रुपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहज हुने उनले बताए ।

गीतकार ज्ञानु राजबंशी विदेशी खाद्य परिकारहरुले बजारमा कब्जा गरिरहेको अवस्थामा आदिबासी राजबंशी समुदायको भक्का, मुरी लगायतका नेपाली मौलिक परिकारहरु ओझेलमा परेको गुनासो गर्छन् । ‘‘आज भाक्का राजबंशीहरुको भान्साभित्र मात्र सीमित छैन,’’ उनी भन्छन्–‘‘गैर आदिबासीहरु नै भाक्काको स्वादमा रमाउने गर्नुभएको छ । तर सरकारले यसलाई पहिचान दिलाउन र प्रबर्धन गर्न मदत गरेको छैन ।’’

विर्तामोड र काँकरभिट्टामा होटल मेनेजमेन्टको अध्यापन गर्दै आउनुभएको स्प्रिन्डल कलेजका प्रबन्धक निरज श्रेष्ठले उत्कृष्ट नेपाली परिकारको रुपमा भक्कालाई प्रबर्धन गर्न सकिने बताए । भक्काको स्वाद र यसमा पाइने पौष्टिक तत्वका बारेमा वैज्ञानिक खोज तथा अनुसन्धान गर्न सके अन्तर्राष्ट्रिय बजारमा यसले पहिचान पाउने उनको सुझाव छ ।

सय डिग्री सेल्सियसको तापक्रममा उम्लिएको पानीको बाफमा उसिनेर पकाइने हुँदा भक्का शुद्ध, अग्र्यानिक र स्वास्थ्यवर्धक खुराक भएको श्रेष्ठले बताए । बीबीसीले हालै आयोजना गरेको ‘मास्टर सेफ प्रोफसनल २०२०’ प्रतियोगितामा दोस्रो भएका नेपाली सेफ सन्तोष साहले बेलायतमा नेपाली टोपी लगाएर भक्का समेत पकाएको उनले स्मरण गरे ।

झापा हुँदै भक्काको परिकार पहाड मात्र उक्लिएको छैन, काठमाडौंको केही रेस्टुरेन्टमा यसले ग्राहक पल्काउन थालिसकेको छ । बाह्रै महिना चिसो भइरहने इलामको पर्यटकीय स्थल कन्याममा एक व्यक्तिले भक्काको व्यापार सुरु गरेका छन् ।

झापा घर बताउने माया खड्का ताजपुरियाले काठमाडौंको डिल्लीबजार ओरालोमा विहान भक्का बेच्न सुरु गरेकी छन् । काठमाडौंमा माग बढेको हुँदा भक्काको व्यापारले उनलाई राम्रै फाइदा दिएको छ । अनामनगर, भृकुटीबजार र बागबजारका केही रेस्टुरेन्टमा भक्का विक्री हुने गरेको छ ।

सुरु भयो भक्का दिवस

भक्काको प्रबर्धन गर्न झापामा बिगत चार वर्षदेखि भक्का दिवस मनाउन थालिएको छ । पुस २९ गते विर्तामोडमा कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले भक्का दिवसको आयोजना गरेको हो ।

भक्कालाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले भक्का दिवस मनाउन थालिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजबंशीले बताए । यसपाली विगतको तुलनामा भब्यताका साथ दिवस मनाइएको थियो । भक्का खान हजारौं भेला भएका थिए ।

कार्यक्रममा जातीय पहिरन र गरगहनाले सजिएका राजबंशी युवतीले भक्का बनाएर पाहुनालाई खुवाएका थिए । सो अवसरमा झापाका राजनीतिक, सामाजिक र जातीय संघ संस्थाका अगुवाहरुको उल्लेखनीय सहभागिता थियो ।

कान्तिपुर दैनिकका झापा सम्बाददाता अर्जुन राजबंशीले भक्का दिवसलाई मान्यता दिन सरकारलाई आग्रह गरे । उनले पूर्वी तराइमा बसोबास गर्ने आदिवासी राजबंशी जातिको मौलिक परिकार भक्का सांस्कृतिक पहिचान र महिलाहरुको आर्थिक उन्नतिको आधार पनि भएको बताए ।

झापामा सयौंको संख्यामा राजबंशी महिलाले भक्काको व्यापारबाट जीविका चलाइरहेका छन् । मेचीनगर–१० धुलावारी चोकमा हरेक विहान भक्का बेच्दै आएकी रुपसरी राजबंशीले विगत २० वर्षदेखि भक्का बेचिरहेको बताइन् ।

थोरै पूँजी र सामान्य भाडाकुँडाबाटै नै भक्का बन्ने भएको हँुदा यसको व्यापार निकै फाइदाजनक छ । मेचीनगर, विर्तामोड, दमक, गौरादह, भद्रपुर, कचनकबललगायतका स्थानमा सयौंको संख्यामा भक्का बनाएर बेच्ने साना पसल चलेका छन् ।

(अम्बिका भण्डारी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज