सीमामा बाक्लियो सुरक्षा : एकैदिन पाँच वीओपीको उद्घाटन

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १४:१७


मेचीनगर, १० फागुन । भारतसँगको सीमामा सरकारले सुरक्षा बलको तैनाथी बाक्लो बनाएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी वलको बोर्डर आउटपोस्ट धमाधम स्थापना भइरहेका छन् ।

झापामा आइतवार एकैदिन सशस्त्र प्रहरीको पाँच वटा बोर्डर आउट पोस्ट (वीओपी) उद्घाटन भएको छ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले बीओपी थप्दै लगिएको उद्घाटनका क्रममा सशस्त्र प्रहरीको नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले बताए ।

मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर—३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका वीओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो ।

यीसँगै जिल्लामा वीओपीको संख्या १७ पुगेको छ । एउटा वीओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायव महानिरीक्षक दाहालले बताए ।

पाँच वटै वीओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी, भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको वीओपी स्थापना गरी सकिएको छ ।

सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा वीओपी स्थापना गर्ने सरकारको लक्ष्य अनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको बताइएको छ ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा हुने अवाञ्जित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अबैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले वीओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागूऔषध, मानव बेचविखनलगायतका आपराधिक गतिविधि न्यूनिकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा वीओपीहरुको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले २०७६ मंसिर ३० गते नै देशभरिमा १ सय १४ वटा वीओपी थप्ने निर्णय गरेको थियो । सोही अनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज