केपी ओलीसँग अब कुनै सहमति हुन्न : प्रचण्ड
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार १९:२५झापा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नहुने बताएका छन् ।
सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेपछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले यसअघि सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताअनुसार नै आफूहरू अघि बढ्ने बताए ।
यो फैसलाको अर्थ के हो ?
हामी सबैको मेहनतले राम्रो भयो। यो फैसला वास्तवमा संविधानको भावना र मर्मअनुसारको फैसला हो । सर्वोच्च अदालतले संविधानको भावना र अक्षरलाई सम्मान गर्ने ढंगले फैसला गरेको छ । त्यसका लागि म उहाँहरूलाई बधाई दिन्छु ।
यो नेपाली जनताको जित हो, लोकतन्त्रको जित हो, संविधानवादको जित हो। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक थियो। त्यसविरूद्ध आन्दोलनमा लागेका सबैप्रति हार्दिक बधाई छ ।
अब तपाईंहरूले राजनीति कसरी अगाडि लैजानुहुन्छ ?
राजनीति सहमतिको बाटोबाटै अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ । यो कुरा हामीले सार्वजनिक रूपमा पनि भनेका छौं। सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताभन्दा बाहिर हामी जाँदैनौं ।
त्यो भनेको तपाईंहरूको पार्टी नेकपाभित्र पनि सहमतिको हुन्छ भन्नुभएको हो ?
होइन, होइन । केपीसँग सहमति हुँदैन। केपीसँग कुनै सहमतिको सम्भावना छैन ।
(सेतोपाटी)