मेचीनगरमा भोलि साइक्लिङ प्रतियोगिता

  प्रकाशित मिति
१४ फाल्गुन २०७७, शुक्रबार १३:५६


।। अर्जुन कार्की ।।
मेचीनगर, १४ फागुन । मेचीनगरमा पहिलोपटक भोलि साइक्लिङ प्रतियोगिता हुँदैछ ।

आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ मेचीनगरका युवाहरुको एक समूहले साइक्लिङ प्रतियोगिता शनिबार गर्न लागेको हो ।

मेचीनगरको वडा नं. ९ र १० का अध्यक्षद्वय गोपाल खड्का र सुदय पनेरुले प्रतियोगिताको उद्घाटन गर्नेछन् । समापनमा प्रदेश सांसद् गोपाल बुढडाथोकी, नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले पुरस्कार वितरण गर्नेछन् ।

‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता गर्न लागेको हो ।

क्लबका अध्यक्ष धनराज थापा, उपाध्यक्ष लक्ष्मण बानियाँ, सचिव राजेश प्रसाई, कोषाध्यक्ष सञ्जय खड्का तथा सदस्यहरु उत्सव राई, शुभद्रा केसी नेपाल, सुनिता थापा, अमित पराजुली, आसिक पराजुली, सविन शिवाकोटी, कैलाश पञ्चकोटी लगायतका खेलकुदप्रेमीहरु प्रतियोगिता सम्पन्न गर्न उत्साहका साथ लागेका छन् ।

क्लबका अध्यक्ष थापाले प्रतियोगितामा झापा, इलाम, पाँचथर र ताप्लेजुङका एकसय भन्दाबढी महिला र पुरुष सहभागी हुने बताए । यो संख्या अझै बढ्ने उनले बताए ।

भोलि विहान ९ वजे धुलाबारीदेखि सुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन हुनेछ ।

दिउँसो १ वजेदेखि पुरस्कार वितरण गरिने अध्यक्ष थापाले जानकारी दिए ।

साइक्लिङ प्रतियोगिता ४० किलोमिटरको हुनेछ । सहभागी पुरुषका लागि ३ घण्टा र महिलाका लागि ४ घण्टाको यात्रा तोकिएको छ ।

प्रतियोगिताका विजेता दश जनालाई पुरस्कार, ट्रफि र गिफ्ट हेम्परहरु रहेको छ । प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई ३ हजार, पाँचौलाई २ हजार तथा छैटौँदेखि दशौँसम्मका विजेताहरुलाई एक हजार नगदसहित ट्रफी र गिफ्टहेम्परहरु रहेको क्लबका सचिव राजेश प्रसाईले बताए ।

प्रतियोगितामा भाग लिने ४० वर्षमाथिका पुरुष र महिलाहरुलाई समेत आकर्षक गिफ्टहेम्परहरु रहेको उनले बताए ।

निःशुल्क फाराम भर्न सकिने प्रतियोगितामा भाग लिने व्यक्तिहरुले हेलमेट, जुत्ता र जर्सी अनिवार्य लगाउनु पर्ने र साइकल जुनसुकै भए पनि हुने क्लबले जनाएको छ । व्याट्रिवाला साइकल भने प्रतियोगितामा निषेध गरिएको छ ।

यात्रा गर्दा बाटामा कुनै समस्या भए स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

यात्रा गरिने ठाउँहरुका स्थानीयहरुलाई नेपालको राष्ट्रिय झण्डा बोकेर सहभागीहरुलाई स्वागत गर्न समेत अध्यक्ष थापाले आग्रह गरेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न ५ लाख ९ हजार रुपैयाँ खर्च लाग्ने कोषाध्यक्ष सञ्जय खड्काले बताए । मेचीनगर नगरपालिका वडा नम्बर ९ र १०, विभिन्न दाता र क्लबका सदस्यहरुले सहयोग गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज