झापा, १५ फागुन । प्रधानमन्त्री केपी ओलीले विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको फागुन १८ गते उद्घाटन गर्ने भएका छन् ।
हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन् ।
उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने प्रसाईले बताए ।
भारतकी प्रसिद्ध नायिका सोनाले बान्द्रालाई समेत निम्तो पठाइएको उनले बताएका छन् ।
कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्व मन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार प्रधानमन्त्री ओली क्यान्सर हस्पिटलको उद्घाटनका लागि सो दिन साढे ७ घण्टा झापामा रहनेछन् । ओलीले अधिकांश समय क्यान्सर हस्पिटल र बीएन्डसीलाई दिनेछन् ।
मंगलवार उद्घाटनका दिन विहान १० बजेको यति एयरलायन्समार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आउनेछन् ।
कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौं फर्कने बताइएको छ ।
उद्घाटनमा काठमाडौंका मूलधारका मिडियाका प्रधान सम्पादक र स्वास्थ्य विधा हेर्ने पत्रकारहरुको ठूलो संख्यालाई निम्त्याइएको गिरीले जानकारी दिए ।
बीएन्डसी हस्पिटलका निर्देशक प्राडा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर हस्पिटल मुलुककै अब्बल हस्पिटल भएको बताए ।
उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए ।
अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडमा बीएन्डसी हस्पिटलसँगै जोडिएको छ ।
३०० बेडको स्वीकृति पाएको सो हस्पिटल हाल १०० बेड सञ्चालन भइरहेको छ ।
कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट स्क्यान गर्न अर्कोपटक दिल्ली धाउनु नपर्ने बताए ।
दिल्लीमा हुने सबै स्वास्थ्य परीक्षण र उपचार सुविधा पूर्वाञ्चल क्यान्सर र बीएन्डसी हस्पिटलमा रहेको उनको भनाई थियो ।