झापालाई ‘चिया जोन’ घोषणा गर्न माग

  प्रकाशित मिति
२४ फाल्गुन २०७७, सोमबार ०६:४८


झापा, २४ फागुन । नगदे बालीको रुपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई  ‘चिया जोन’को रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाले चिया सरोकारवालाहरुसँग आइतबार चन्द्रगढीस्थित कृषि ज्ञान केन्द्रको सभाहलमा गरेको छलफल कार्यक्रम सो माग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले चियालाई धान, मकै, सुपारी र रबरजस्तै जोन वा सुपरजोन घोषणा गरेर काम गरे चिया किसान, मजदूर र उद्योगी सबैको हितमा हुने र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्वपूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बताए ।

त्यसैगरी, राष्ट्रिय चिया तथा कफि विकास बोर्डका सञ्चालक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयम्ले गर्नुपर्ने, किसानको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताए । उनीहरुले किसानलाई निरास नहुन र गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कृषि अधिकृत शालिकराम भट्टराईले कार्यालयसँग चियाको विज्ञ प्राविधिक नभए पनि अन्यवालीको अवस्थालाई हेरेर सल्लाह सुझाव दिने गरेको बताए । उनले किसानलाई मलका लागि डिलर राख्न कार्यालयलाई अधिकार नभएको र स्थानीय तहमै त्यो अधिकार गइसकेको जानकारी दिए ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रदेश नम्बर १ का सदस्य भूपाल सापकोटा, होम कार्की, सच्चिन निरौला, सहीकुमार राई, सन्तकुमार राई, पत्रकार माधव विद्रोहीलगायतले बोर्ड काठमाडौंमै सीमित रहेको र जिल्लामा जनशक्तिको अभाव देखाएर काम नगरेको आरोप लगाए ।

उनीहरुले चियाको राजधानी झापा रहेको हुँदा बोर्डको केन्द्रीय कार्यालय झापामै स्थानन्तर गरेर किसान, मजदूर र उद्योगीको हितमा काम गर्नुपर्ने नत्र चिया जोन घोषणाका लागि पहल गर्न माग गरे ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख प्रेम आचार्यले कार्यालयमा स्रोत साधानको अभाव रहेको हुँदा किसानहरुको समस्या बुझ्न र सहयोग गर्न समस्या भइरहेको बताए । उनले बोर्डले किसानले उत्पादन गरेको चियाको मात्रा र रोपण गरेको क्षेत्रफलको आधारमा कृषि सामाग्री संस्थानबाट मल उपलब्ध गराउने जानकारी दिए ।

कार्यक्रममा कार्यालयकी कृषि प्राविधिक कुसुम भण्डारीले बार्डको उद्देश्य, काम कर्तव्य, जिल्लाको चियाको तथ्याङ्क र चालु आर्थिक बर्षको बजेटका बारेमा जानकारी गराएकी थिइन् ।

उनले झापामा हाल सात हजार ३४० हेक्टरमा चिया खेती भइरहेको जानकारी दिँदै साना कृषकको संख्या दुई हजार ९६२, चिया सहकारी सात वटा, साना चिया प्रशोधन कारखाना ४३ मध्ये ३५ वटा सञ्चालनमा, चिया प्याकेजिङ उद्योग १७२ वटा, टि–इस्टे«टको संख्या ७३ वटा रहेको बताए ।

उनले जिल्लामा मात्र हाल १ करोड ७४ लाख २९ हजार २८८ केजी तयारी चिया उत्पादन हुने बताइन् । चालु आर्थिक बर्ष २०७७÷०७८ को बजेट भने बोर्डको रु. ९५ लाख ९७ हजार मात्र रहेको जानकारी दिइन् । जसमा प्रशासनिक खर्च रु. ७७ लाख एक हजार, कार्यक्रम खर्च रु. १८ लाख ६६ हजार, पूँजीगत खर्च रु. ३० हजार गरी रु. ९५ लाख ९७ हजार भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज