ढुंगा–गिटी रसिदको ठेली बुझाउन जनप्रतिनिधिलाई ताकेता

  प्रकाशित मिति
१८ चैत्र २०७७, बुधबार १२:५२


मेचीनगर, १८ चैत । मेचीनगरपालिकाले नदीजन्य पदार्थ संकलन रसिदको ठेली बुझाउन वडाअध्यक्ष र कार्यपालिकाका सदस्यलाई पत्र काटेको छ ।

मेचीनगर नगरपालिकाले वडा नम्बर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु, कार्यपालिका सदस्य कृष्ण कनाल र टिकाराम सार्कीलाई नदीजन्य पदार्थ संकलन रसिदको ठेली बुझाउन पत्राचार गरेको हो ।

धेरै समयदेखि उक्त रसिदको हिसावकिताव नआएपछि नगरपालिकाले उनिहरुलाई राजश्व नबुझाएकोले तत्काल बैँकखातामा रकम दाखिला गर्न र ढिला भएको कारण खुलाई लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ ।

मेचीनगर नगरपालिकाको ढुंगा, गिटी र बालुवा उत्खनन ठेक्काको विषयमा शुरुदेखि नै विवाद भईरहेको छ । नगरपालिकाले मापदण्ड बनाएर परिमाण तोकेर ठेक्का लगाउने गरे पनि नदीजन्य पदार्थ हेर्ने समितिका पदाधिकारी त्यसमा मुछिने गरेको पाईएको छ ।

चालुवर्षमा मेचीनगर–३ नम्बर वडामा ३४ सय घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन स्वीकृति दिएको थियो । त्यो भन्दाबढी सामाग्री निकाली सकिएको छ । नगरपालिकाले यहि चैत ३ गते ढुंगा, गिटी र बालुवा संकलन गरिएको रसिदको ठेलीसहित बैँक खातामा रकम दाखिला गर्न किन ढिला भएको भन्दै पत्राचार गरिएको छ ।

रसिद बुझाउन ढिलाई गरेको देखिएकोले उहाँहरुलाई पत्र काटिएको नगरपालिकाका राजश्व शाखाका प्रमुख खेमराज प्रसाईले बताए । ‘उहाँहरुले छ महिनाअघि लगेको रसिदको ठेली अझैसम्म नबुझाएकोले पत्र काटिएको हो’, शाखा प्रमुख प्रसाईले भने–‘लामो समयदेखि बाँकी बक्योत्ता देखिएकोले तत्काल रसिदसहित ठेली बुझाउन आग्रह गरिएको छ ।’ ‘हामीले केहि रसिदका ठेली जिम्मा बुझेर लगेको हो’, वडाध्यक्ष पनेरुले भने–‘त्यसमा केहि रसिदको हिसावकिताव बाँकी छ । नगरपालिका कार्यालयले पत्र काटेको छ । हामी छिट्टै सल्लाह गरेर रसिदको ठेली बुझाउने छौँ ।’

गत असोज महिनामादेखि खुलेको खोलामा ठेक्का लगाएर मात्र चलाउनु पर्नेमा कार्यपालिका सदस्यको जिम्मेवारीमा रसिद थमाईएको छ । कार्यपालिकाको निर्णयले एकजना वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई ढुंगा, गिटी र कालुवाको रसिद संकलनको जिम्मा दिईएको थियो ।

कार्यपालिका सदस्य कृष्ण कनालका अनुसार रसिद लिएकोमध्ये १५० वटा ठेली रसिदको हिसाव बुझाउन बाँकी रहेको छ । कार्यपालिका सदस्य सार्की, वडाध्यक्ष पनेरु र मसहितले उक्त ठेलीको हिसाव बुझाउन बाँकी रहेको कनालले जानकारी दिए । ‘रसिदहरु सबै हामीसँग छैन’– कार्यपालिका सदस्य कनालले भने–‘केहि रसिद वडा कार्यालय, केहि रसिद संकलन गर्ने र केहिको उठाईसकिएको र केहि उठन बाँकी रहेको छ । नगरपालिकाबाट पत्र प्राप्त भएको छ । केहिदिनभित्र रसिदको ठेली बुझाउछौँ ।’

नगरपालिका भित्रका खोलामा दैनिक हजारभन्दा बढी ट्याटर, टिपरले ढुंगा, गिटी र बालुवा ओसारिरहेका छन् । एउटै ट्याक्टरले दिनको ६ टिपसम्म नदीजन्य पर्दार्थ ओसार्ने गरेका छन् । एक पटकको ट्याक्टरले ५ सय रुपैयाँ लिदा सामान्य रुपमा पनि दिनको ४ टिप गर्छ । दैनिक हजारभन्दा बढी ट्याक्टर र टिपर खोलामा कुद्ने गरेको स्थानीयको भनाइ छ ।

नगरपालिकाले चैतमा हडिया र टिमाइ खोलामा करिव एक करोडको मात्र ठेक्का लगाएको छ । शान्तिनगरसँग सीमा नदी जोडिएकोले आम्दानी बाँडफाँड गर्नुपर्ने कारणले पनि नगरपालिकालाई गतवर्षको तुलनामा यसपटक घाटा हुने सम्भावना देखिएको छ । बुद्वशान्ति गाउँपालिकालाई अझै करिव २१ लाख रुपैयाँ तिर्न बाँकी छ ।

गतवर्ष नदीजन्य पर्दाथ उत्खनन्का लागि ५ करोडमा ठेक्का लागेको थियो । यसपटक ६ करोडमा कसैले ठेक्का लिएनन् । नगरपालिका कार्यपालिकाको वैठकले जनप्रतिनिधिलाई नै रसिद संकलनको जिम्मा दिइएको थियो ।

।। लोकतन्त्रपोष्ट डेक्स ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज