नाम लेख्ने समस्या

  प्रकाशित मिति
२२ चैत्र २०७७, आईतवार १३:४२


जब मानिस व्यापक जनसमुदायको हितबाट अलग भएर आफूमा केन्द्रित भई सोच्न थाल्दछ तब उसको दृष्टिकोण नै आग्रही, क्षुद्र र तुच्छ हुन पुग्दछ । स्वभाविक रूपमा ऊ साँघुरिंदै–साँघुरिंदै जान्छ । ऊ यथार्थबाट पनि बिचलित हुन्छ ।

ऊ चाहिंदो–नचाहिंदो विषयमा अल्झिन पुग्दछ । म अहिले धेरै र व्यापक विषयमा छलफल गर्ने पक्षमा छुइन । सिरिप् एउटा सानो विषयमा, नाम लेख्ने कुरामा मात्र केन्द्रित हुन चाहन्छु ।

नाम कुनै निश्चित एकाइको परिचय दिने सङ्केत मात्र हो, यो त कुनै व्यक्ति वा वस्तुको प्रतीक मात्र हो । यद्यपि अहिले मानव समुदायमा हरेक जातजातिका हरेक छुट्टाछुट्टै व्यक्तिका परिचय निम्ति नामहरूको अभाव भैसकेको छ । जस्तो कि, म आफ्नो नाम ‘पुण्यप्रसाद खरेल’ भन्छु । ‘पुण्यप्रसाद खरेल’ नामका व्यक्ति झापामा नै सात जना जति मैले थाहा पाएको छु । अझै ‘पुण्यप्रसाद’ नामका व्यक्ति त झापामै सयौं छौं होला ।

नामहरूको कोशमा हजारौं मात्र नाम होलान्, तर मान्छे त करोडौं–अरबौं भइसक्यौं । त्यसैले सबैका लागि भिन्नाभिन्नै नाम त नपुग्ने नै भए । नाम मात्रले परिचय त नपुग्ने नै भयो । सन्दर्भले, प्रसङ्गले, सामिप्यताले हामी छोटो नामबाट व्यक्ति चिन्छौं । नामसँग व्यक्ति प्रतिकात्मक रूपमा जोडिएको मात्र हो ।

नामहरू वारेमा छलफल गर्दा हामी विगतको मानव सभ्यताका विभिन्न कालखण्डका नामहरूको वारेमा बुझ्न सक्छौं । वैदिककालका केही नामहरू हेरौं– शिव, अग्नि, पार्वती, इन्द्र, विष्णु, महेश्वर, लक्ष्मी । यी नामहरू कोही दुई अक्षरी, कोही तीन अक्षरी वा कोही चार अक्षरी छन् । अर्थात् नामका पछि कुनै जात–थर जनाउने नामहरू छैनन् ।

पौराणिक तथा उपनिषदकालका केही नामहरू हेरौं– धृतराष्ट्र, हरिश्चन्द्र, दुर्योधन, युधिष्ठीर, अर्जुन, कपिल, सहदेव, एकलव्य, रावण आदि । यस्तै ऐतिहासिक नामहरू यलम्वर, स्थुन्को, मानदेव, अंशुवर्मा, जितेदास्ती आदि । यी नामहरू पढेर को कुन जातको हो ? को कुन जातको हो कसले भन्न सक्छ ? अर्थात् यी नामहरूका पछि कुनै जात जनाउने नाम उल्लेख छैन ।

जात–थर जोडेर नाम लेख्ने चलन तब मात्र सुरु भयो जब समाज सामन्तवादी युगमा प्रवेश ग¥यो, जातका आधारमा हेलाहोचो सुरुभयो, छुवाछूत सुरुभयो । ठुलो जातकाहरूले नाम मात्र भन्दा आफ्नो जातीय श्रेष्ठता नदेखिने भएकाले जात उल्लेख गर्न थाले । नामबाटै श्रेष्ठ देखाउने लोभ फैलिएकै कारण पछिपछि नामका अगाडि र पछाडि अनेक फुर्काहरू जोडिन थालिए । ‘श्री’को लस्कर लगाउने, आचार्य, भास्कर, शिरोमणि आदि जस्ता विशेषण लगाउने, ‘प्रा., डा., आदि थप्ने या नामका पछाडि पनि त्यसरी नै पढेका डिग्रीको पुच्छर लगाउने र विशिष्टता झल्काएर गम्किने ढोङ सुरुभए । प्रा.डा.गोबिन्दराज, डा. गोबिन्दबल्लभ, लक्ष्मीप्रसाद वीए वीएल, पूर्णबहादुर एमए, कृष्णबहादुर बिए, श्री १००८ महात्मा जगन्नाथजी महाराज आदि केही उदाहरणहरू हुन् ।

यी श्री ३, श्री ५, श्री १०८, श्री १००८ र डा.प्रा. या बीए, एमए, एमडी, एफआरसीएस, एलएलबि समग्रमा सबै त्यस्तै सिङ र पुच्छरहरू हुन् या सकारात्मक रूपमा भन्ने हो भने गहनाहरू हुन् । गहनाको कारण, सुन चाँदी, हिरा, मोती आदिले युक्त हुनाको कारण कुनैकुनै वस्तुको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ भने जस्तै हो । एउटा हिराजडित जुत्ताको मोल हिरारहित भन्दा त बढी हुन्छ नै । त्यस्तै हो त्यो सब नामका अगाडि पछाडिका गहनाको अर्थ भन्ने ठान्दा हुन् नामका अघिपछि केही थप्नेहरू ।

यो कुरा गरिरहेका बेला बीसको दशकका बेला हामी घडी किन्दा सोधि हाल्थ्यौं– “त्यो घडी कति ज्वेलको हो ?” त्यति बेला १३÷१७ ज्वेलका, १९ ज्वेलका, या २१ ज्वेलका घडी आउँथे । बढी मूल्यको घडीमा बढी ज्वेल हुन्थ्ये । अनि ‘बाहिर लेखेर मात्र हुँदैन, भित्र खोलेर हेर्नु पर्छ, भनेजति ज्वेल छन् कि छैनन् ?’ भनेर पनि कुरा गथ्र्यौं हामी । ज्वेलको सङ्ख्या जति धेरै भयो घडी त्यति मूल्यवान भए जस्तै जस्का नामका अगाडिपछाडि धेरै गहना हुन्छन् उ नै ठुलो मान्छे हो, भन्ने भान पनि पर्ने नै भयो ।

यति भैकन पनि मानिस ज्ञान र विवेकले प्रौढ बन्दै गएपछि, आडम्वरहीन भएपछि देखावटी ती अगाडिपछाडिका गहनाका कुराहरू छोड्दै जान्छ । हुन पनि आज बाल्मिकीलाई, व्यासलाई, गार्गीलाई, यज्ञवल्क्यलाई कुनै विशेषण दिइरहनु पर्छ र !

म अझ यहाँ ओर्लिन चाहेको कुरा हाम्रा जस्ता देशमा अहिले महिलाको नाम लेख्ता देखिएका समस्या वारेमा पनि हो । एउटा कुरा त नामको सुरुमा लेखिने सुश्री, श्रीमती, श्री, श्रीमान् आदि कुन विशेषण लेख्ने भन्ने जटिल समस्या छ । अझ ‘श्रीमान्’ले ‘पति’ र ‘श्रीमती’ले ‘पत्नी’ जनाउने भएकाले पनि कति ठाउँ अफ्ठेरो पार्ने पनि गरेकै छ ।

अर्को कुरा नामका पछाडि थर लेख्ने कुराले हैरान पारेको छ, रुवाएको छ । अहिले अलिअलि गर्दै अब महिलाका लागि पनि ‘श्री’ लेख्ने राम्रो चलन चल्न भने थालेको पनि छ । सर्वसम्मतिमा ‘श्री’ लेख्ने चलन चलोस् र सहज होस् भन्ने लाग्छ मलाई । नारीलाई विवाहित र अविवाहित भनेर छुट्याउने गरी ‘सुश्री–श्रीमती’ लेख्नु जरुरी छैन । मतकै रुपमा राख्नुपर्दा त म यी ‘श्री, श्रीमान्, श्रीमती’ भन्ने फुर्काहरु परित्याग गरिनुपर्छ भन्ने नै ठान्छु ।

अझ, थर पनि कति सामाजिक भावनाले चेतना उठेका व्यक्तित्वले त्याग्नु भएको छ । म सम्झन्छु, नेपालको कम्नीष्ट आन्दोलनका प्रणेता ‘पुष्पलाल’ले आफ्नो जात थर त्यागेर त्यही नाम मात्र लेख्नुभयो । यो उहाँद्वारा उद्देश्यपूर्ण रूपमा गरिएको काम थियो । तर अहिले उहाँलाई पुष्पलाल (श्रेष्ठ) भनेर अपमान गर्न कोसिस गरिंदैछ । यस्तै विद्वान मोदनाथले आफ्नो थर ‘पौडेल’ त्यागेर ‘प्रश्रित’ लेख्न थाल्नुभयो । मैले सुनेअनुसार भारतीय फिल्मी जगतका प्रशिद्ध नायक अमिताभ बच्चनका बुबा हरवंशराय बच्चनले पनि यो मानिस–मानिसमा विभेद देखाउने जात (श्रीवास्तव) छोडेर साझा उपनाम ‘बच्चन’ राख्नुभएको हो ।

तर सामन्तवादी रुढीग्रस्त दिमागले मानिसलाई कस्तो पार्छ भने के भन्नु र ! म सुरुमा घडी लाउँदाको रहर सम्झन्छु, घडी लगाएको नारी दौराको बाहुलाले छोपियो भने बाहुलो पट्याएर भए पनि त्यो घडी देखाउन मन लाग्थ्यो । घडी छोपियो भने त मैले घडी लगाएको कुरा अरुलाई कसरी जानकारी हुन्छ र भनेर म विचलित बन्थें । त्यस्तै हुन्छ ठुलो जातिका हौं भन्ने तथाकथित उपाध्यायलाई ।

त्यसो भएर नै रामप्रसाद उपाध्याय खनाललाई ‘राम’ मात्र भनेर पुग्दैन, ‘रामप्रसाद’ भन्नुपर्छ, अझ रामप्रसाद खनाल पनि भन्नुपर्छ, अझ ‘रामप्रसाद उपाध्याय खनाल’ पो भन्नुपर्छ । त्यो ‘रामप्रसाद उपाध्याय खनाल’को अहं ‘उपाध्याय खनाल’मा दोब्बर भएर बसेको हुन्छ । यो ‘उपाध्याय खनाल’ त रामको कुनै वहादुरीबाट प्राप्त कुरा होइन, यो कुनै योगदानबाट, मानवजातिको सेवाबाट प्राप्त होइन । यो त उसको आफ्नो कमाइ होइन पैतृक विरासत मात्र हो ।

त्यसैले म त ‘खड्गप्रसाद शर्मा ओली’ भन्नुभन्दा त ‘केपी’ भन्नुमा धेरै प्रगतिशीलता देख्छु । (यहाँनेर अङ्ग्रेजी शब्द प¥यो भन्ने छुट्टै बहसको विषय हुनसक्छ मेरो आशय नाम छोटो भए पनि हुन्छ भन्ने हो ।) जस्तो पुष्पकमल दाहालले आफूलाई आफ्नो नाम ‘प्रचण्ड’ नै मन पर्छ भने । त्यो नामको हकमा भने मलाई ठिकै लागेको कुरा हो ।

एउटा बेला थियो, जन्मदा मान्छे शुद्र नै जन्मन्छ र पछि कर्मले ब्राह्मण या छेत्री–वैश्य जे हुने हो त्यो हुन्छ भनिन्थ्यो । यो साँच्चै ठिक कुरा थियो । हामीले हुनुपर्ने पनि त्यही हो । हामीले राजाको छोरो राजा हुन्छ भन्ने चलन भने मास्यौं, तर जन्मँदै ब्राह्मण हुने वा शुद्र हुने भन्ने घिनलाग्दो चलन भने बाँचेकै छ, बचाएकै छौं । आज त्यही प्रिय भएर पो हुनुसम्म दुखको कुरा भएको छ ।

अलिक अगाडि बढौं, आजभोलि हाम्रो देशमा महिलाहरूका नामपछाडि थरहरूको लर्को जोड्ने चलन देखिन्छ । साधना प्रधान अधिकारी, सीता पौडेल दाहाल, अष्टलक्ष्मी शाक्य बोहोरा, डा.सुभद्रा सुब्बा दाहाल आदि । (यी नामहरू उदाहरणका लागि लेखाइको आशय प्रष्ट पार्न मात्र लेखिएका हुन्)

यो नाम उल्लेख गरिरहेका बेला मलाई एक जना महिलावादी नेतासँग यो नामका पछाडि थर लेख्ने वारेमा निकै तीतो बहस भएको सम्झना छ । उहाँले भन्नुभएथ्यो– “म त लोग्नेको थर राख्तै राख्तिन ! त्यसमा लोग्नेमान्छे गनाउँछ ! त्यसमा ‘स्वास्नी भनेको जुत्ता हो’ भन्ने लोग्नेमान्छेको आडम्बर लुकेको छ जस्तो लाग्छ । म त यही लेखिआएको थर राख्छु । मैले सानैदेखि राखेको थर हो यो ।”

मैले भनेथें– “त्यो पनि त बाबुको थर हो नि ! बाबु पनि लोग्नेमान्छे नै हो । अब कि आमाको थर सोधेर लेख्ने कि ? आमाको पनि मावलका हजुरबुबाको थर होला । मावलकी हजुरआमाको थर पनि बुढामावलका बुढाहजुरबुबाको थर होला । सम्झेर भन्नुस् त के लेख्ने ? …” मैले भनेको थिएँ, “नेता भएर तपाईं नसुल्झिने समस्यामा नफँस्नोस् ! घाँस काट्ता हात काट्यो भनेर हँसिया समात्ने हातलाई हिर्काउँदा आफैंलाई दुख्छ । यो समाजका दुई हात हुन् पुरुष र नारी । दुबै नमिली घाँस काट्न सम्भव छैन ।”

म अहिले पनि नाम लेख्ने वारेमा घोरिन्छु । वास्तवमा हामीले त हाम्रा सेवाले, हाम्रा योगदानले चिनिनु पर्ने हो । डिग्रीले, हाम्रा जात–थरले, हाम्रा प्रमाणपत्रले चिनिनु पर्ने पक्कै होइन नै । ती प्रमाणपत्र कुनै पनि राष्ट्र र समाजका लागि योगदान गरेवापत पाएका होइनन् । ती त सदुपयोग गरेको खण्डमा अब सेवा गर्न सक्षमताका आधार मात्र हुन् ।

म अहिले पनि ती ऋषिमुनिहरू, महात्माहरू सम्झिन्छु । ती तीन–चार अक्षरी नामले चिनिने भएका छन् । विश्वामित्र, वृहस्पति, वशिष्ठ कुन जातका थिए ? न्यूटनको जात किन चाहियो ? आर्किमिडिसको जात के थियो के मतलब ? फ्लोरेन्स नाइटिङ्गेलको जात किन चाहियो ? कलमका आविष्कारक वाटरम्यान कुन जातका थिए ? हवाइजहाजका आविष्कारक राइट दाजुभाइ कुन जातका थिए ? भन्नुको तात्पर्य नाम चाहिन्छ तर जात त चाहिंदैन नै । त्यसकारण यो जात–थरको गलफती नगरे पनि त हुन्छ नि ।

म भन्छु, नामका पछि लेखिने त्यो थर वारे गलफती नगरौं । जुन लेखिरहेका छन् महिलाले त्यही थर लेख्ता दोहोरो फाइदा छ । ‘आमा’को नाम उल्लेख गर्दैखेरि मावली पनि जानिने थियो । यो दुई वटा थर लेखेर नामलाई भद्दा बनाउने चलन हटाउनु नै राम्रो । अझ दुई वटा थर लेख्ता कसैले एउटा थरलाई ब्राकेटमा लेख्छन् ।

कुन थर ब्राकेटमा लेख्ने र कुन बाहिर लेख्ने त्यो पनि भ्रम हुन्छ । अझ बुझाइमा समस्या हुन्छ । अझ महिलाहरूको थर हुँदैन भन्ने भनाइ छ नि ! त्यसले पनि समस्या पार्दोरहेछ । बरु सुरुको थर सधैं लेखिरहे समस्या सकिन्थ्यो । सकेसम्म नाम मात्र लेखेर यो थर लेख्ने चलन हटाए अझै राम्रो हुन्थ्यो ।

लेखक : पुण्यप्रसाद खरेल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज