कोरोना अपडेट : झापामा १९ जना थपिए, मेचीनगर र बिर्तामोड उच्च जोखिममा

  प्रकाशित मिति
६ बैशाख २०७८, सोमबार २१:०६


झापा, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् ।
मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । यी नगरमा दुई दिनयता संक्रमित निकै थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा बढी विर्तामोडमा चार महिला र चार पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका एक जना समेत गरी मेचीनगरमा २ जनामा संक्रमण पुष्टि भएको छ । दमकमा २ जना, भद्रपुरमा ३ जना, कनकाईमा ३ जना र झापा गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ । चौलागाईले संक्रमणको लहर बढ्दै गएको हुँदा सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने सुझाव दिए । घर बाहिर हिँड्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने र भीडभाड गर्न नहुने नियम पालना गर्न उनको सुझाव छ ।

झापामा हालसम्ममा ४६७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४५०७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । जिल्लामा अहिलेसम्ममा १२९ जनाको मृत्यु भइसकेको र ६२ जना आइसोलेसनमै रहेका छन् । पछिल्लो समय कोरोना भित्रिने डरले सरकारले सीमा क्षेत्रमा सतर्कता बढाएको छ । काँकरभिट्टा नाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छ भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले भारतबाट आउनेहरुको विशेष चेकजाँच र निगरानी गरिरहेका छन् । काँकरभिट्टा नाकामा कोरोनाको दोस्रो लहर सुरु भएयता १८५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसमध्ये ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । आइतवार एकैदिन नाकामा ८ जनामा कोरोना पोजेटिभ भेटिएका थिए । तीमध्ये २ जना मेचीनगरकै थिए । मेचीनगर स्वास्थ्य कार्यालयले नाकामा कोरोना जाँचका लागि सात जना स्वास्थ्यकर्मी खटिएको जनाएको छ । कोरोनाको दोस्रो लहरको हल्ला चलेयता यो नाकाबाट एक लाख जति भित्रिसकेका छन् । नाकामा तत्काल संक्रमित पत्ता लगाउन एन्टीजेन परीक्षण बिधिको प्रयोग हुँदै आएको छ भने भद्रपुर र कनकाईमा पीसीआर ल्याव छन् ।

मन्त्रिपरिषद्को सोमवार सम्पन्न बैठकले ठूला सहरमा विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । ठूला सहरको रुपमा झापाको काँकरभिट्टा, विर्तामोड र दमक समेटिएका छन् ।
यसैगरी सरकारले विहे, ब्रतबन्ध र पर्वमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, होटलहरु विहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने र सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने निर्णय गरेको छ ।

विर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले नेपाल सरकारले गरेको निर्णय पालना गरिने बताए । उनले कोरोनाको संक्रमण उच्च भइरहेको हुँदा सबैले यस्तो बेला सजगता अपनाउन आग्रह गरेका छन् ।

‘के गर्न पाइन्छ, के पाइँदैन

–विवाह, ब्रतबन्ध र पर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने ।
–होटल तथा रेस्टुरेन्ट विहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने ।
–सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु चढाउन नपाइने, मास्क अनिवार्य’ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज