सहिद सुरज र राजनको १५औं स्मृति दिवस

  प्रकाशित मिति
६ बैशाख २०७८, सोमबार २१:४८


झापा, ६ वैशाख । वैशाख ६ गते झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन ।
सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ ।

२०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा वैशाख ६ गतेकै दिन चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद विश्वास र गिरीले देशका लागि बलिदान दिएका थिए ।
सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । भद्रपुर नगरपालिका–६ स्थित सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा सहभागीहरूले मुलुकमा संघीय लोकतन्त्र र गणतन्त्र स्थापना गर्नका लागि सहिदले दिएको बलिदानको मूल्यलाई कसैले पनि भुल्न नहुने बताएका छन् ।

सभामा सहिदकी आमा मिना विश्वास, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बरुवाल, ४ नम्बर वडा अध्यक्ष हंस राजवंशी, नेकपा एमालेका नगर इन्चार्ज असारु राजवंशी, एमालेका नगर अध्यक्ष ब्रह्मलाल ढुंगाना, घनश्याम अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव दीपक अग्रवालले गरेका थिए ।

त्यस्तै चन्द्रगढी विमानस्थलमा संगठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रालिले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायीले भद्रपुर–८ स्थित आफ्नै भवनमा आयोजना गरेको उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।
चन्दगढ यातायातका अध्यक्ष विजय वैधको सभापतित्व तथा प्रदेश सांसद बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको एमालेका नगर इन्चार्ज असारु राजवंशीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा नगर इञ्चार्ज राजवंशीले ६५औं पटक रगत दिएका थिए । सहिद सुरज विश्वास चालक भएको र उनी चन्द्रगढी विमानस्थलमा टयाक्सी चलाउँथ्ये । उता सहिद राजन गिरीको अर्ध कदको सालिकमा पनि माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको थियो ।

२०६३ वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए । शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास पनि । उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए । निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए ।

सोही क्रममा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न सुरु गर्यो । त्यसै बेला झापाली दुई युवालाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे । सहिदद्धयले सहादत प्राप्त गरेको १५ वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज