किसानको दुःख : मकै पाक्यो, सुगा र बाँदरलाई मस्ती

  प्रकाशित मिति
८ बैशाख २०७८, बुधबार ०७:३१


।। डम्बर बराल ।।

मेचीनगर, ८ वैशाख । मेचीनगर नगरपालिका वडा नं. ५ को राम मन्दिर टोलमा बाँदरको आक्रमण बढेपछि स्थानीयबासी चिन्तित छन् ।

टोकला चिया बगान र निजी बन क्षेत्रबाट टोलतिर दिनहुँ पस्ने बाँदरले किसानको पाक्न लागेको मकैबाली खाएर सखाप पारेका छन् । घरभित्र पसेर खानेकुरा खाइदिने र बालवालिकालाई समेत लखेट्ने गर्नाले स्थानीयवासी हैरान बनेका छन् ।

३० देखि ४० वटाको सङ्ख्यामा रहेका बाँदरले गाउँमा आतङ्क नै मच्चाएको टोलका दधिराम बराल बताउँछन् । दिनैपिच्छे बाली खाएर हैरान पार्न थालेपछि स्थानीयहरु समूह बनाएर बाँदर खेदाउँछन् । उनीहरुले बाँदर खेदाउन कुकुरको समेत सहयोग लिने गरेका छन् । बराल भन्छन–‘मकैका सुत्ला लागेदेखि सुरुमा थोरै संख्यामा बाँदर आउने गर्थे, अहिले त बच्चाबच्ची लिएरै आउने गरेका छन् ।’

बिहानदेखि बेलुकासम्म खेतमै बस्दा समेत मकै जोगाउन नसकिएको र मानिसले मात्र खेदाउँदा पार नलागेकाले कुकुरको समेत सहयोग लिनुपरेको उनको भनाई छ । एक्लै बाँदर खेदाउँदा बाँदरले नै आक्रमण गर्ला भन्ने त्रास बढेको स्थानीय अमर गौतमले बताए ।

गौतम भन्छन्–‘बालीमा मात्र होइन, अब त घरभित्रनै बाँदर पस्न थाल्यो, साना भुरा केटाकेटीहरुलाई आक्रमण गर्ला भन्ने अर्काे चिन्ता छ ।’ सो क्षेत्रमा विगत ३ वर्षदेखि बाँदरको उपद्रो बढेको हो । किसानले लगाएको बाली उठाउने बेला नहुँदै बाँदरले क्षति पुर्याउने गरेको स्थानीय खेमनाथ नेपाल बताउँछन् ।

‘बाली लगाएर के गर्नु घरमा भित्राउनै पाइदैन,’ उनी दुःखेसो पोख्दै भन्छन्–‘धान रोप्यो धानमै किराको प्रकोप, मकै रोप्यो सुँगा र बाँदरलाई नै पुग्दैन ।’ सोही वडाका कुलबहादुर बुढाथोकीले बाँदरले खाइदिने भएकाले यसवर्ष मकै बाली नलगाइएको बताए ।

अघिल्लो वर्ष लगाएको मकै बाँदरले सबै नष्ट गरिदिएपछि उनले यसवर्ष हाईब्रिड जातको मकै नलगाएको बताए । ‘के गर्नु घरको पनि काम गर्नै पर्यो, एकछिन् बारीमा ध्यान दिएन भने बाली सखापै पार्छ, एकातिरबाट खेदाउँदै गयो, अर्कोतिरबाट घरमै आइपुग्छ, अब त बाली पनि लाउन नपाइने भो’–उनले चिन्ता व्यक्त गरे ।

उता जागरण टोलमा समेत बाँदरको आतङ्क बढेको छ । सो क्षेत्रमा समेत स्थानीयहरु समूह बनाएरै बाँदर खेदाउन लागेका छन् । ‘बाँदरले गरिखान नदिने भो, बाली लगायो भित्र्याउन पाईँदैन, अब त पकाएको खाना समेत खाइदेला भन्ने पीर हुन थाल्यो,’–जागरण टोलका ज्ञानबहादुर गुरागाईँले दुःखेसो पोखे । ‘अब त शरीरमा तागत पनि सकिँदै गयो, बाँदर धपाउँदा समेत आक्रमण गर्ला भन्ने डर छ,’ उनले भने–‘यस्तै अवस्था रहिरहे अब बाली कसरी जोगाउने ? मकै रोप्यो सुँगा र बाँदरलाईनै ठिक्क हुनेभो, आफू त गोठालो मात्र ।’

बाँदरले मकैबाली मात्र नभएर फल तथा सब्जी खेतीमा समेत क्षति पुर्याउँदै आएको छ । लौकाको चिचिला, फर्सीका गट्टा तथा बिभिन्न फल समेत नष्ट गर्न थालेको सोही वडाका भवानी गुरागाईँले बताए । समयमै बाँदरको व्यवस्थापन नगरे आगामी दिनमा थप समस्या आउने र खेती प्रति किसानको उत्साह घट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज