अहिले भर्खरै : आइसीयु खोज्दै हेलिकप्टरमार्फत फेरि बीएन्डसी आइपुगे सङ्क्रमित

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १३:२०


विर्तामोड, २० वैशाख । पहिला पहिला मोफसलका विरामी उपचार खोज्न राजधानी काठमाडौं जाने गर्दथे । अचेल कोभिड–१९ का सङ्क्रमितहरु काठमाडौंमा आइसीयु नपाएर उपचारका लागि अस्पताल खोज्दै मोफसलको झापा आउन थालेका छन् ।

पाँच दिनको अन्तरमा काठमाडौंका कोभिड–१९ बाट सङ्क्रमित दुई जना विरामीलाई बेडसिफ्ट गरेर आइसीयु उपचार सुविधाका लागि झापाको बीएन्डसी हस्पिटल ल्याइएको छ ।

आज दिउँसो १ बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर ३५ वर्षीय मदन पाठकलाई उपचारका लागि झापा ल्याइएको छ । पाँच दिनअघि काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकप्टरमार्फत उपचारका लागि बीएन्डसी हस्पिटलमा ल्याइएको थियो ।

पाठकलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनले काठमाडौंमा जटिल अवस्थाका कोभिड सङ्क्रमितहरु आइसीयु र भेन्टिलेटर खोज्दै बेडसिफ्ट भएर आउने गरेको बताए ।

काठमाडौका अस्पतालमा आइसीयु र भ्यान्टिलेटर सुविधा उपलब्ध हुन नसकेपछि जटिल अवस्थाका सङ्क्रमितलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा सुविधा भएको अस्पताल खोजेर पठाउन सिफारिस गरिदै आएको छ । स्वास्थ्य मन्त्रालयको रेकर्डमा आइसीयु र भेन्टिलेटर शैया उपलब्ध रहेको देखिएकाले विरामीलाई झापाको बीएन्डसी हस्पिटल पठाउने गरिएको बताइएको छ ।

निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटलमा हाल कोभिडको उपचारका लागि २५ बेडको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा रहेको गिरीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सङ्क्रमितको चाप दिनप्रतिदिन बढ्दै गएको छ । त्यहाँका कतिपय अस्पतालमा सङ्क्रमितले शैया नपाउने अवस्था सिर्जना हुँदै गएपछि विरामीले मोफसलका अस्पताल रोज्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज