यस्तो छ ‘कालो ढुसी’ संक्रमणको जालो

  प्रकाशित मिति
२० जेष्ठ २०७८, बिहीबार ११:४०


झापा, २० जेठ । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ ।
जनस्वास्थ्य विद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढसयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ ।

कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निधान के होला ? लगायतका बारेमा सर्वसाधरण नागरिकको चासो बढ्दो छ । नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि भने सरकारले गरेको छैन । तर वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्याउनु आवश्यक छ ।

प्रारम्भिक लक्षणहरु के–के हुन् ?

अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने
आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने
नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने
बाक्लो सिँगान आउने
आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने
दाँत दुख्ने वा हल्लिने
टाउको भारी हुने
ज्वरो आउने
अचेत हुने, बरबराउने हुन्छ

कतिखेर अस्पताल भर्ना हुने ?

जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ । चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।
के छ उपचार विधि ?

यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ । कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ । यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइन, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नु पर्ने हुन्छ ।

कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?

यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।

यो रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएका अनियन्त्रित मधुमेह, अंग प्रत्यारोपण गरिएका बिरामी र क्यान्सरको उपचार गराइ रहेका बिरामी
कोभिड–१९ को उपचारको लागि अस्पतालमा भर्ना भएका र डिस्चार्ज भएका बिरामी

कोभिड–१९ उपचारका क्रममा स्टेरोइड औषधि प्रयोग गरेका व्यक्तिहरु
चिकित्सकको परामर्शविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
फोहोर, ओसिलो तथा हावा राम्रोसँग आउजाउ नहुने क्षेत्रमा बस्दा
शरीरमा पानीको मात्रा कम हुँदा

के छन् रोकथामका उपायहरु ?

सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजल मास्कको पुनः प्रयोग नगर्ने
नियमित रुपमा हात धुने वा सेनिटाइजर प्रयोग गर्ने
व्यक्तिगत सरसफाइमा ध्यान दिने
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
नुनिलो पानीले नाक सफा गर्ने
पोमिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
स्वास्थ्यकर्मीको सस्ल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

कालो ढुसीले गराउने संक्रमणको सुरुवाती चरणको पहिचान र उपचार गर्ने विधिबारे चिकित्सकहरुलाई सहयोग पुर्याउने उद्देश्यले सरकारलाई एडभाइजरी जारी गर्न सहयोग गरिएको छ । सरकारले सोही एडभाइजरीको आधारमा प्रोटोकल तयार पार्ने र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कालो ढुसीको उपचारमा प्रयोग हुने ‘एम्फोटेरिसिन बी’ औषधि नेपालमा अभाव छ । सरकारले तत्काल यसको व्यवस्था मिलाउनु पर्छ । एन्टिफङ्गस औषधि ल्याउन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग समन्वय गरिरहेको र जुन ५ तारिखभित्र यो औषधि आउने जानकारी पाएको छु । यसको उपलब्धता तत्काल हुन सके यसको संक्रमणबाट बिरामीलाई बचाउन सकिन्छ ।

(शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.योगेश न्यौपानेसँग अनलाइन खवरका प्रेम लामाले गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज