आज विश्व वातावरण दिवस : फोहोर मैला व्यवस्थापनमा चुनौती

  प्रकाशित मिति
२२ जेष्ठ २०७८, शनिबार ११:१३


केही समय अघि म आफ्नो कर्मक्षेत्र त्रिदेव क्याम्पस चारआली जाँदै गर्दा गाडीमा एक अपरिचित महिलासँग भेट भयो । परिचय गर्ने क्रममा थाह भयो उहाँ सिक्किमबाट नेपाल आउनु भएको पाहुना हुनुहुँदोरहेछ । केही छिनको गफगाफ पछि छुट्ने समयमा मैले सोधेँ – “तपाँईलाई नेपाल कस्तो लाग्यो ?” उहाले भन्नुभयो– “मलाई नेपालको सबैथोक मनपर्र्यो तर यो जथाभावी सडकको छेऊमा यसरी फोहोर फालेको चाहिँ पटक्कै मन परेन ।
हाम्रो ठाउँमा त कपालको तेन्द्रो पनि यसरी फाल्न पाईदैन । यहाँ सरकारले यसरी फोहोर फाल्दा कारवाही गर्दैन ?” म नजवाफ भएँ । आज विश्वभरी ूभ्अयकथकतझ च्भकतयचबतष्यलू भन्ने अन्तराष्ट्रिय नारा र “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनस्र्थापना” भन्ने राष्ट्रिय नाराका साथ अन्तराष्ट्रिय वातावरण दिवस मनाई रहदा यस विषयमा कलम चलाउन मन लाग्यो ।
केही समय अघि झापाको बिर्तामोडमा अवस्थित एक प्रतिष्ठित सामाजिक संगठनको नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा उम्मेदारले भोट माग्न प्रयोग गरिएका पर्चा पोष्टर, पानीका खाली वोतल, चियाका कफ लगायतको फोहोर बाटा भरी देख्दा साह्रै नरमाईलो लाग्यो । सबै राजनैतिक पार्टीका केन्द्रीय तथा जिल्ला र स्थानीय तहका नेता, स्थानीय सरकारका प्रमुख, सामाजका अगुवा राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायतका समाजका अगुवा सचेत व्यक्तिहरुको उपस्थिति रहेको त्यो स्थान त्यति असभ्य र फोहोरी बन्ला भन्ने मैले कल्पना समेत गरेको थिइन ।
अन्य स्थानको सभा, समारोह, निर्वाचन तथा कार्यक्रम भन्दा फरक हुने कल्पना गरिएको उक्त स्थानलाई हेरेपछि मलाई कलम चलाउनु पर्छ भन्ने सोच त्यतिवेलै देखि आएको हो र निर्वाचित अध्यक्षलाई मैले प्रश्न गरे तपाईले अत्यन्तै भव्यताका साथ चुनाव जित्नु भो ।

हार्दिक बधाई दिन चाहन्छु । त्यहाको तामझाम हेर्दा खर्चपनि निक्कै भयो होला है ? मैले उहालाई सोधेँ– “हो मेडम खर्च त अलि अलि भैहाल्छ नि चुनाव हो ।” उहाँले भन्नु भयो । अनि फोहोर मैला व्यवस्थापनमा चाहि खर्च छुट्टाउनु भएन ? चुनावी क्षेत्र त साह्रै फोहोर छ सर । सडकको करिव ५०० मिटर क्षेत्रमा तपाईहरुको चुनाव प्रचारमा खर्च गरिएका पर्चा, पोष्टर, चियाका कप र पानीका बोलत लगायका चिजविजहरु यत्रतत्र छरिएर सडक धेरै फोहोर छ, यो चाहिँ कस्ले सफा गर्ने ? मैले उहाँलाई प्रश्न गरेँ । उहाँ मेरो अनुहार हेरेर अलमल्ल पर्नुभयो ? मैले परिस्थितिलाई सहजिकरण गर्न फेरी भने निर्वाचित अध्यक्ष र प्रतिस्पर्धि अध्यक्ष मिलेर खर्च गरेर त्यो सडक सफा गर्न लगाउनु पर्छ होला । मैले पुनः थपे सर, मलाई त त्यहाको अवस्था देखेर कलम चलाउन मन लाग्यो । उहाँले हैन त्यसो नगरौ मेडम हामी त्यसको व्यवस्थापन गर्छौ भन्नु भयो । पर्सीपल्ट हेर्दा सडक सफा भएको कारणले मैले यो विषयलाई उठान गरिन ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस स्थानमा मात्रै होइन देशका विभिन्न ठाउँमा सरकारी निकाय, वित्तिय संस्था, सामुदायिक वन, विद्यालय, विश्वविद्यालय, सामाजिक संगठन लगायतका संघ, संगठन र निकायहरुले तथा व्यक्तिहरु अन्यय विभिन्न शीर्षकमा लाखौ करोडौ खर्च गर्ने तर आफूद्वारा सिर्जना भएको फोहोर मैला व्यवस्थापनमा किन बजेट छुट्टयाउन ध्यान नपुगेको होला भन्ने लागेर कलम चलाउन मन लाग्यो । र आज विश्व वातावरण दिवसको अवसर पारेर मैले कलम चलाएको हुँ । वातावरण भनेको भौतिक, मानसिक, सामाजिक, नैतिक, सास्कृतिक, आर्थिक, राजनैतिक र भावनात्मक शक्तिहरुको योग हो, जस्लाई जीवन, प्रकृति, व्यवहार, विकास जीव, प्राणाीहको परिपक्बता आदिले प्रभावित गरेको हुन्छ । जहा प्रकृतिका निशुल्क उपहार र मानवनिर्मित कुराहरु समावेश भएको हुन्छन् ।

मानव निर्मित फोहोरको कारणले वातावरण दिन प्रतिदिन प्रदुशित बन्दै गईरहेको छ । नेपाली समाजमा फोहोरमैल ाप्रतिको सोच अत्यन्त सतही रहेको छ । घरमै उत्सर्जन भएको फोहोर उचित व्यवस्थापन गर्न नसक्दा लाग्ने रोगबारे पनि नेपाली समाज अनभिज्ञ रहेको छ । यही कारणले जतासुकै फोहोर फाल्ने चलन हट्न सकेको छैन । उद्योग, कलकारखाना र अस्पतालबाट उत्पादित घातक फोहोरसम्बन्धी जनचेतना जाग्न सकेको पाइँदैन । यसको साथै नेपालीको परम्परा नै भन्नु पर्छ आफूले उत्पादन गरेको सामान्य खालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मानसिकता छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा, ठीक ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको बाहान गइसकेपछि फोहोर ल्याएर कुठाउँमा फाल्ने लगायत समस्याले देशका ठूला शहरहरु आक्रान्त छन् । समुदायमा रहेको यस खालको बानी हटाउन समुदाय नै लाग्नु पर्ने अवस्था छ । कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नुपर्छ भन्ने ज्ञान सबैमा हुनु जरुरी छ ।

मुख्यतया सडकमा फोहोर थुपार्नु पर्ने बाध्यता, अस्वभाकिव रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेको छ । हेर्दा झिनामसिना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोग व्याधी फैलाउँछ भन्ने ज्ञान नहुनु अर्को समस्या देखिन्छ । फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता देखिन्छ । यो अज्ञानता हटाउन सक्ने हो भने फोहोमैलासम्बन्धी समस्या समाधान हुने थियो ।
नेपालमा संक्रामक रोगहरु फौलिनुको प्रमुख कारणहरु फोहोर मैलाकोे उचित व्यवस्थापन नहुनु नै हो । हामीले पिउने पानी वा प्रयोग गर्ने पानी, व्यक्तिगत सरसफाईको बानी व्यवहार, खाद्यान्नको उपलब्धता र वितरण, चर्पीको उपलब्धता, घर, अस्पताल, उद्योग धन्दा, कलकारखानाबाट निस्केको फोहोरको व्यवस्थापन, घर आँगनको सरसफाई, ढल निकासको व्यवस्था, धुवाँ, धुलो र वायु प्रदुशणको व्यवस्थापनको कमीको कारणले नेपालमा नै स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु भईरहेका छन् ।

यसको अतिरिक्त रसायन तथा फोहरको गलत व्यवस्थापन, दूषित पिउने पानी, जल तथा वायु प्रदूषणका कारण विश्वका एक चौथाइ मानिसले ज्यान गुमाइरहेका छन् । बर्सेनि ३० लाख ७० हजार मानिसले वायु प्रदूषण सिर्जित रोगबाट ज्यान गुमाइरहेका छन् । विकासोन्मुख मुलुकमा कोइला, दाउरा, गुइँठाजस्ता ऊर्जाका परम्परागत स्रोतबाट निस्कने दूषित धूवाँबाट ४० लाख ३० हजार मानिसले ज्यान गुमाइरहेका छन् । जलप्रदूषित रोगबाट विश्वका आधा अस्पताल भरिने गरेका छन् । जलप्रदूषणबाट वार्षिक १ अर्ब ७० हजार मानिसको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । विकासोन्मुख मुलुकमा वार्षिक ६० हजार मानिस मौसमसँग सम्बन्धित दुर्घटनाबाट मर्ने गरेका छन् । यसको साथै कैयन जीवजन्तु समेत लोप हुँदै गईरहेका छन् । पर्यावरणको सन्तुलन हुन नसक्दा यी संकट निम्तिएका हुन् । तसर्थ यी समस्याहरुको समाधान गर्नका लागि सम्बन्धित सरोकारवालाहरु जिम्मेवार बन्नु आवश्यक देखिन्छ ।

१. फोहोरमैला व्यवस्थापनमा कसको भूमिका के ?

हाम्रो यत्रतत्र रहेको फोहोरमैला र प्रदुषण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न एउटै मात्र व्यक्ति, निकाय र संस्थाको प्रयासमा सम्भव छैन । त्यसैले अहिलेको समाज विकास र परिवर्तनका वाधक बनेको, पर्यावरणमा प्रत्यक्ष असर पु¥याईरहेको र पर्यटकको दष्ट्रिकोणमा एकदमै कमजोर देश भनेर चिनाउने र हामीलाई पछि पार्ने कारक तत्वको रुपमा रहेको छरपस्ट भएको फोहोर मैलाको व्यवस्थापनमा सम्वन्धित सरोकारवालाको भूमिकालाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

क.. सरकार तथा नियमक निकायको भूमिका

सरकार वातावरण संरक्षण गर्ने महत्वपूर्ण निकाय हो, सरकारले आवास व्यवस्थापन, औद्योगिक व्यवस्थापन लगायतका विविध पक्षमा नीतिगत रुपमा वैज्ञानिक र ठोस निर्णय लिन सक्नुपर्छ, वसाइको आकारलाई निश्चित गर्न सक्नुपर्छ, शहर केन्द्रीत सुविधाहरूलाई विकेन्द्रीकरण गर्न सक्नुपर्छ । सरकारले फोहोर मैला व्यवस्थापनका सम्बन्धमा अवलम्बन गर्नुपर्ने नीति निर्धारण गर्न स्थानीय विकास मन्त्रालयका मन्त्रीको अध्यक्षतामा फोहोरमैला व्यवसथापन परिषद् गठन गर्ने व्यवस्था फोहोर मैला व्यवस्थापन २०६८ (स)शोधन २०७४) को दफा २३ मा गरेको छ ।
उक्त परिषद्कोे फोहोर मैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी स्वीकृतिका लागि सरकार समक्ष पठाउने, फोहोरमैला व्यवस्थापनको लागि स्थानीय निकायले शुल्क निर्धारण गर्दा एकरुपता कायम गर्ने मापदण्ड स्वीकृत गर्ने आदि काम कर्तव्य हुने छ भनी उल्लेख गरिएको छ ।

यसैगरी ऐनको दफा ३८ को (ठ) मा फोहरमैला सङ्कलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा अवरोध सिर्जना गर्ने, (ढ) फोहरमैला संकलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध, बन्द, घेराउ गर्ने वा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यमा हड्ताल गर्ने, फोहरमैला अत्याधिक उत्पादन गर्ने वस्तु भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्ध लगाएको कुनै वस्तुको उत्पादन र विक्रिवितरण गर्ने तथा रासायनिक विषादीको आयात गर्ने वा म्याद नाघेको (समयावधि नसकिएको) औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगर्नेलाई प्रमुख जिल्ला अधिकारीले कसुरको मात्रा हेरी ५० हजारसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने छ भनी ऐनको दफा ३९ (९ र १०) मा व्यवस्था गरेको छ ।

तसर्थ जिल्ला प्रशासन कार्यालयले कानुनमा व्यवस्था भए बमोजिमको अधिकार प्रयोग गरी फोहोर मैला व्यवस्थापनमा असहयोग गर्ने वा वाधा उत्पन्न गर्ने व्यक्ति संस्था वा निकायलाई कानुन बमोजिमको कारवाही गर्न पछि हट्नु हुँदैन ।

ख. स्थानीय तहको भूमिका :

स्थानीय निकायलाई स्थानीय सरकार पनि भनिन्छ । संयीय सरकारले कानुनको माध्यमबाट फोहोर मैला व्यवस्थापन गर्ने कानुनी दायित्व र अधिकार स्थानीय सरकारलाई तोकेको छ । फोहोर मैला व्यवस्थापन ऐन, २०६८ (शंसोधन २०७४) को परिच्छेद २ को दफा ३ मा व्यवस्था भए बमोजिम फोहोरमैलाको सङ्कलन, अन्तिम विसर्जन तथा प्रशोधनको लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ लेखिएको छ । यसैगरी दफा ११ प्रारम्भिकर चरणमा संकलन भएको फोहोर मैला व्यवस्थित गर्न कुनै स्थानलाई स्थानान्तरण केन्द्रको रुपमा तोक्नुपर्ने व्यवस्था गरेको छ भने दफा १२ मा फोहोरलाई स्थायी विसर्जन गर्नको लागि वातावरण सम्बन्धी प्रचलित कानुनको अधिनमा रही फोहोर मैला व्यवस्थापन स्थल तोक्न सक्ने छ भनि उल्लेख गरेको छ ।

त्यसैले फोहोर मैला व्यवस्थापनको प्रबन्ध मिलाउने जिम्मेवारी स्थानीय तहको हुनेमा दुइमत छैन तसर्थ कानुनी आधारमा टेकेर स्थानीय सरकारले फोहोरको व्यवस्थापन गर्न निर्देशिका बनाई त्यसको माध्यमबाट स्थानीय स्तरमा नै विविध योजना र कार्यक्रमहरू बनाई त्यसको प्रभावकारी कार्यान्वयन मार्फत जनतालाई सुसूचित गर्ने जिम्मेवारी स्थानीय निकायको हो ।
यसैगरी ऐनको दफा १४ मा स्थानीय तहले आवश्यकता अनुसार अनुमति प्राप्त निजी क्षेत्रका कम्पनी वा सामुदायिक क्षेत्रबाट प्रतिस्पर्धा गराई वा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी कानून बमोजिमको कुनै प्रक्रियाको अवलम्बन गरी आफ्नो क्षेत्रको फोहोर मैला व्यवस्थापन गराउन सक्नेछ भनी उल्लेख गरेको छ । यसैगरी ऐनको दफा १८ मा स्थानीय तहले फोहोर मैला व्यवस्थापन गर्न सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट सेवा शुल्क लगाई उठाउन

सक्नेछ र दफा १८ बमोजिम शुल्कबाट प्राप्त आम्दानी तथा फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सम्लग्न गराउँदा प्राप्त हुने आम्दानी स्थानीय तहले एउटा छुट्टै शीर्षकमा राखी सो रकम तोकिएको मापदण्डको अधीनमा रही फोहोमैलाको व्यवस्थापन, वातावरणीय संरक्षण तथा फोहर मैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको विकासमा खर्च गर्नु पर्नेछ .भनी स्पष्ट लेखेको छ ।
यसबाट स्पष्ट हुन्छ, संघीय सरकारले कानुनी अधिकार सहित स्थानीय तहलाई फोहोर व्यवसथापनमा जिम्मेवार बनाउन प्रयास गरिएको छ । तसर्थ फोहोर मैला व्यवस्थापनको लागि आवश्यक कन्टेनरहरुको व्यवस्था गर्ने, फोहोरलाई समयमा नै उठाउने व्यवस्था मिलाउने, स्थानीय संघ संस्थाको सहयोगमा वातावरण सरसफाईका कार्यक्रम र चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।

तर कतिपय स्थानीय निकायमा सरकारले तोकेको स्थानमा फोहोरमैला विसर्जन नगर्ने, घरमाथिबाटै सडकमा फोहोर फाल्ने, फोहोर उठाउने समयमा फोहोर नल्याउने र गाडी फर्किसकेपछि फोहोर ल्याएर बाटो थुपार्ने जस्ता गलत व्यवहारले फोहोर मैला व्यवस्थापनमा थप चुनौति थपिएको गुनासो समेत स्थानीय निकायको छ । यसरी फोहोर मैला व्यवस्थापनमा असहयोग गर्ने वा वाधा उत्पन्न गर्ने व्यक्ति संस्था वा निकायलाई कानुन बमोजिमको कारवाही गर्न स्थानीय सरकार पछि हट्नु हुँदैन । यसैगरी विभिन्न संघ, संस्था वा व्यक्तिले गर्ने सामाजिक कार्यक्रममा बजेट विनियोजन र स्वीकृति गर्दा फोहोर मैला व्यवस्थापनको शीर्षकमा बजेट नछुट्टयाएका व्यक्ति, संस्थाको कार्यक्रम स्वीकृत गर्नु हुदैन ।

ग. फोहोर उत्सर्जन (उत्पादन) गर्ने व्यक्ति, संस्था वा निकायको भूमिका

फोहोर मैला व्यवस्थापन ऐन, २०६८ (शंसोधन २०७४) को दफा ५ मा आफ्नो क्षेत्र भित्र विसर्जन हुन सक्ने फोहोर मैला विसर्जन वा पुन प्रयोगको व्यवस्था मिलाई बाँकी फोहोर मैला मात्र निष्कासन गरी फोहोमैलाको परिमाणलाई घटाउनु प्रत्येक व्यक्ति, संस्था वा निकाएको कर्तव्य हुनेछ पनि भनिएको छ । अर्थात् मेरो घरबाट निस्केको विसर्जन हुन सक्ने वा पुन प्रयोग हुन सक्ने फोहोरलाई व्यवस्थापन गर्ने दायित्व मेरो हो भन्ने महसुस गर्न सक्नुपछ र बाँकी फोहोर मात्रै निष्कासन गर्नुपर्छ भन्ने भावना जागृत हुनु जरुरी छ । तर कतिपय स्थानीय निकायमा फोहोर फाल्ने कन्टेनरको उचित व्यवस्था नभएको, समयमा गाडी फोहोर उठाउन नआएको आदि जस्ता गुनासो गर्दछन् स्थानीयवासीहरु । यसैगरी अस्पताल, उद्योगधन्दा लगायतका संघ संगठनले पनि आफूले उत्सर्जन गरेको फोहोर सकेसम्म आफैले विसर्जन गर्नुपर्छ भन्ने भावनाका साथ बार्षिक आफ्ना कार्यक्रमको बजेट निर्धारण गर्दा फोहोरमैला व्यवस्थापनको लागि समेत बजेट छुट्टयाउनु पर्दछ ।

यसको साथै फोहोरको उचित व्यवस्थापन गर्नका लागि सड्ने फोहोर (जैविक मल हुने) र नसड्ने फोहोर (प्लाष्टिक जन्य, रासायनिक तथा अन्य) लाई छुट्टाएर छुट्टाछुट्टै राख्नुपर्छ । यसरी छुट्टाएर राखेको खण्डमा दुवै किसिमको फोहोर खरिद गर्ने मानिस घरमा नै आउँछन् । जसले गर्दा उनीहरुको आय आर्जनको स्रोत हुनुको साथै वातावरण सफा हुनुका साथै पर्यावरण सन्तुलनमा समेत सहयोग पुग्दछ ।

घ. सम्बन्धित क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संगठनको भूमिका

वातावरण संरक्षण र पर्यावरण विकासका क्षेत्रमा काम गर्ने संयुक्तराष्ट्र संघिय वातावरण कार्यक्रम लगायतका अन्तराष्ट्रिय संघसंगठन , नेपाल सरकारका विभिन्न निकाय तथा यस क्षेत्रमा क्रियाशील गैर सरकारी संघसंस्थाले आफूले प्राप्त गरेको कानुनी अधिकारको परिधिभित्र रही संस्थाको उद्देश्य अनुरुप वातावरणको संरक्षण र विकास तथा पर्यावरणको विस्तार र पुनस्र्थापनामा सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्य गरी अघि बढ्नु पर्दछ ।

ङ. सञ्चार माध्यमको भूमिका

आम सञ्चारका माध्यमहरू पनि वातावरणको संरक्षणमा जिम्मेवार वन्नुपर्छ । सञ्चार माध्यमहरूले वातावरण संरक्षणमा उत्प्रेरणा जगाउने खालका सामाग्रीहरू प्रचार प्रसार गर्नुको साथै वातावरणसँग सम्बन्धित काम गर्ने संस्था वा निकायका क्रियाकलापलाई सार्वजनिक गर्ने र जनतालाई सुसूचित तर्फ यस्ता संस्थाहरुलाई सधैं घच्घच्याइ रहनु पर्दछ । यसरी माथि उल्लेखित व्यक्ति वा संस्थाले आफूले निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारपूर्ण तरिकाले निर्वाह गरेको खण्डमा फोहोर मैला व्यवस्थापन र वातावरणमा देखा परेका समस्यालाई न्युनिकरण गर्न सकिन्छ ।

२. किन गाह्रो भयो फोहोर मैला व्यवस्थापन ?

फोहोर मैला व्यवस्थापनमा जुन समयमा पश्चिमा राष्ट्रहरू समेत समस्यामा थिए, हामी त्यति बेला फोहोर मैला व्यवस्थापनमा अब्बल थियौ । सन् १९१९ मा चन्द्र शम्शेरको पालामा फोहोर मैला व्यवस्थापन गर्न सफाइ अड्डा गठन गरिएको थियो । अधिकांश फोहोरहरूलाई खाल्डो (जसलाई सागा र नौगा भनिन्थ्यो) मा पुरेर जैविक मलमा रूपान्तरण गरिन्थ्यो र खेतबारीमा विसर्जन गरिन्थ्यो या त अन्य किसानलाई बिक्री गरिन्थ्यो ।

अहिलेपनि फोहोरमैला व्यवस्थापनको लागि सरकारले नेपालको संविधान २०७२, वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४, फोहोर मैला व्यवस्थापन ऐन २०६८, स्वास्थ्य सेवाजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका–२०१४ लगायतको ऐन कानुन मार्फत फोहोर व्यवस्थानको लागि निक्कै प्रयास गरेको छ । कानुनमा यथेष्ट व्यवस्था हुँदाहुँदै पनि आज फोहोर मैला व्यवस्थापन हामीलाई किन फलामको चिउरा चपाय सरि हुन पुगेको छ । यसका कारण निम्नानुसार छन् :

१. आम नागरिकमा समाज र सभ्यता प्रतिको दायित्व बोध नहुनु ।
२.रासायनिक र बिधुतिय युगको आगमनसँगै फोहोर मैलाको प्रकृतिमा परिवर्तन र सम्पूर्ण फोहोरहरूको व्यवस्थापन प्राकृतिक उपचारले मात्र सम्भव नहुनु ।
३. स्थानीय निकायहरूको गठन वा पुनर्गठन भएर ऐनले फोहोर मैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार निकाय बनाएपछि आम नागरिकमा फोहोर मैला व्यवस्थापन नितान्त स्थानीय तहको दायित्व हो भन्ने ठान्नु र आत्मदायित्व बोध नहुनु ।
४. स्थानीय तहको क्षमता वृद्धि हुन नसक्दा प्रविधि र प्राविधिक ज्ञानको अभावमा स्थानीय तह आफैमा अन्योलमा पर्नु ।
५. स्पष्ट र दर्ह्रिरलो कानुनी धरातलको अभावले गर्दा अनुगमन निकायको भूमिका प्रभावकारी नहुनु ।

३. कानुनमा के छ ?

फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ मा भएको व्यवस्था अनुसार स्थानीय तहले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गर्ने, कण्टेनर वा फोहरमैला सड्ढलन केन्द्रमा राखिएको फोहरमैला अनधिकृत तवरले प्रयोग गर्ने, फोहरमैला सड्ढलन केन्द्रमा राखिएको कण्टेनर तोडफोड गर्ने, क्षति पुर्याउने, राखिएको स्थानबाट हटाउने वा संकलन केन्द्रमा कुनै नोक्सानी पुर्याउने, फोहरमैला सड्ढलन केन्द्र, कण्टेनर वा फोहरमैला थुपार्ने ठाउँमा कुनै पनि किसिमको हानिकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने, घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने,

वा स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्ने, रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने, औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने, फोहरमैला सड्ढलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा उत्पन्न हुने जस्ता कसुर गरेमा ऐनको दफा ३९ मा व्यवस्था भए बमोजिम कसूरको मात्रा हेरी कसुर गर्ने व्यक्ति वा निकायलाई १ लाख सम्म जरिवाना गर्ने, अनुमति रद्द गर्ने वा सेवा सुविधा रोक्का गर्ने जस्ता सजाय स्थानीय तहले गर्न सक्नेछ भनी स्पष्ट उल्लेख गरेको छ ।

यसैगरी फोहरमैला सड्ढलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा अवरोध सिर्जना गर्ने, फोहरमैला संकलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध, बन्द, घेराउ गर्ने वा फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यमा हडताल गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा पन्ध्र दिनदेखि तीन महिनासम्म कैद वा दुवै गर्न सक्ने छ भनी उल्लेख गरेको छ यसरी नै फोहरमैला अत्यधिक उत्पादन हुने वस्तु भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्ध लगाएको कुनै वस्तुको उत्पादन तथा बिक्री वितरण गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ । तसर्थ कानुनको अक्षरस पालना गरी सभ्य समाज, स्वच्छ वातावरण कायम राख्न अधिकार प्राप्त निकायहरु अनुसाशित र सक्षम हुनु जरुरी छ ।

४. निष्कर्ष

अन्त्यमा, विश्वभरी पर्यावरण असन्तुलनको यो अवस्थामा सुधार नभएमा अवको २०० वर्षमा पृथ्वीमा मानिसको अस्तित्व संकटमा पर्ने कुरामा वातावरण विज्ञहरुले सचेत गराएका छन् । यो गम्भिर परिवेशलाई मध्यनजर गर्दै पर्यावरणमा हुने थप क्षतिलाई न्यूनिकरण गर्न र विश्वव्यापी चेतना जागाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस वर्ष संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दीगो विकास लक्ष्य प्राप्तिको लागि विश्व स्वास्थ्य संगठनसँग सन् २०२१ देखि २०३० को दशकमा विभिन्न कार्यक्रम गर्ने सहकार्य समेत गरेको छ ।

पर्यावरण असुन्तलनको एक कारकतत्वको रुपमा रहेको फोहोर मैलाको उचित व्यवस्थापन गरी पर्यावरण असन्तुलनको अवस्थालाई न्यूनिकरण गर्दै भावी सन्ततीको भविश्य सुनिश्चित गर्नु तपाई हामी सवैको दायित्व हो । त्यसैले आफ्नो घरको फोहोर सार्वजनिक स्थानमा लगेर अनियन्त्रित रुपमा थुपार्नृ, अस्पताल, विद्यालय, होटल, पसल हाटबजार, उद्योग धन्दा र कलकारखानाहरुले आफ्नो कारणबाट उत्पादन भएको फोहोरको उचित व्यवस्थापन नगर्ने जस्ता कार्यलाई निरुत्साहित गर्नुपर्दछ ।

हरेक कुरामा सरकारको मुख ताक्ने र अर्काकै भर पर्ने नेपाली बानीले अन्तत्वोगत्वा आफैलाई नै हानी गर्छ । आफ्नो वरिपरिको वातावरण अस्वस्थ्य भएमा संक्रामक रोगहरुले त्यसक्षेत्रका बासिन्दालाई सहजै आक्रमण गर्छ । त्यो गाऊँ वा समाज नै अस्वस्थ्य हुन्छ । व्यक्ति आर्थिक रुपमा कमजोर हुनुको साथै, व्यक्तिले समाजमा आफलाई कुनैपनि क्षेत्रमा प्रतिस्पर्धामा उभ्याउन सक्दैन । उस्का भावना तथा विचार पनि कुष्ठित हुन्छन् जस्ले गर्दा उ मानसिक रुपमा पनि कमजोर हुन्छ । जुन कुरा समाज र राष्ट्रकै लागि पनि घाटा हो ।

त्यसैले यस्ता विषयमा स्थानीय प्रशासन र सरकार गम्भिर बन्नु पर्छ । सम्बन्धित व्यक्तिले पनि आफ्नो स्वास्थ्य र आफ्नो परिवारलाई स्वस्थ्य बनाउन फोहोर मैला व्यवस्थापनको लागि बानीको विकास आफ्नै घरबाट गर्नुपर्छ । आफ्ना सन्तानलाई पनि उक्त कुराहरु सिकाउनु पर्छ र सानैदेखि अभ्यस्त बनाउनु पर्छ । व्यक्तिमा स्वअनुशासनको विकासको लागि वा फोहोर मैला र प्रदुशणको व्यवस्थापन गर्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । अनियन्त्रित फोहोर उत्पादन गर्ने र व्यवस्थापन नगर्ने उद्योगहरुलाई कडा करवाही गर्नुपर्छ । वातावरण अस्वस्थ्य भएमा त्यसबाट मानव जीवनमा पर्ने असरको वारेमा जनस्तरमा चेतना अभिबृद्धि भर्ने खालका कार्यक्रमहरु ल्याईनुपर्छ ।

गाऊँ शहरको सौन्दर्यता विगार्ने, मानव स्वास्थ्यमा असर गर्ने र पर्यावरण सन्तुलनमा समेत असर गर्ने यस प्रकारको अव्यवस्थित फोहोरको उचित व्यवस्थापन समयमा नै गर्न नसके भविश्यमा समाज र राष्ट्रले ठूलो क्षति व्यहोर्नुपर्ने र चुनौतिको सामना गर्नुपर्ने हुन्छ । अहिले विश्वमा कोभिड महामारी फैलिनुको एक कारक तत्व पर्यावरण असन्तुलन र वातावरण प्रदुषण पनि हो ।
त्यसैले सरकार, स्थानीय निकाय, उद्योगी व्यवसायी सर्वसाधारण लगायत सरोकारवालाहरुको आ– आफ्नो भूमिका निर्वाह गरौ । पर्यावरण सन्तुलन पुनस्र्थापना गर्दै भावी सन्ततीको भविश्य सुनिश्चित गर्न आफ्नो तर्फबाट भूमिका निर्वाह गरौ । वातावरण दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज