पानी तान्ने मोटरबाट करेन्ट लागेर बालक र वृद्धाको मृत्यु

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार २०:३२


झापा, २८ जेठ । झापाको अर्जुनधारा र कमलमा पानी तान्ने मोटरबाट करेन्ट लागेर विहीवार एकै दिन दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहीवार अपरान्ह ३ बजेतिर अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्काको मृत्यु भएको हो ।

आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर सख्त घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

यसैगरी, विहीवार बेलुकी ६ बजेतिर कमल गाउँपालिका ७ लालधोन्द्रामा पानी तान्ने मोटर चलाउन गएका मोरङको बेलबारी नगरपालिका ४ का १४ वर्षीय सन्देश धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्ना मामाघर आएका धिमाल करेन्ट लागेर घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । दुबै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई साताभित्र झापामा पानी तान्ने मोटरको करेन्ट लागेर चार जनाको मृत्यु भइसकेको छ । गाउँघरमा पानी तान्न र खेतमा सिञ्चाई गर्न मोटर जडान गर्ने प्रचलन छ । तर बालबालिका र वृद्धवृद्धा समेतले असुरक्षित तरिकाले मोटर चलाउने गर्दा दुर्घटना बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज