७ वैशाख २०८१, शुक्रवार

प्रम देउवालाई महिला सांसदको सुझाव ः कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ

९ पुष २०७९, शनिवार
Image

झापा, ९ पुस । नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । बालुवाटारमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् । 

उनीहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताएका थिए । उनीहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी  दिइन् । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ  ।