१५ वैशाख २०८१, शनिवार

संस्थागात विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी कम

१२ पुष २०७९, मङ्गलवार
Image

विर्तामोड, १२ पुस । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला कार्यसमितिको आयोजनामा एक दिवसीय शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका विषय अन्तरक्रिया भएको छ । 

विर्तामोडमा मंगलबार आयोजित कार्यक्रमका अधिकांश वक्ताहरुले संस्थागात विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी कम देखिएको बताएका छन् । 

सहभागीहरु वक्ताहरुले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धि घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । 

प्रतिनिधि सभा सदस्य डा.के आर खम्बूको प्रमुख आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपााल झापाका अध्यक्ष अर्जुन कुमार पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । विराट सामुदायिक अध्ययन केन्द्रको समेत सहकार्यमा भएको कार्यक्रममा मोहन प्रसाद ओली, युवराज पाण्डे र टंक सेढाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

स्थानीय निकायले शिक्षा क्षेत्रमा वजेट न्यून छुट्याउनु, वाल विकासको व्यवस्थापनमा ध्यान नदिनु, राजनीतिक दलका जिम्मेवार पदमा बसेका व्यक्ति शिक्षक रहनु, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दैनिक उपस्थितिको लेखाजोखा नहुनु तथा शिक्षकमा नयाँ नयाँ ज्ञान र सीपसहित प्रविधि मैत्री बन्न नसक्नुले पनि सामुदायिक विद्यालयको सिकाई उपलब्धि अपेक्षा गरिए अनुसार हुन नसकेको कार्यपत्रमा उल्लेख गरिएको थियो । 

विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली, सहित झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन रुद्र सिटौलाले गरेका थिए ।