१६ चैत २०८०, शुक्रवार

विर्तामोड नगरअस्पताल सञ्चालनको तयारी

१२ पुष २०७९, मङ्गलवार
Image

झापा, १२ पुस । बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भईरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढीरहेको नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए।

अस्पतालन नयाँ भवनमा सरेसंगै सेवापनि थप हुनेछन् । यहाँबाट स्वास्थ्य बिमा, दैनिक ओपीडि, उच्चस्तरिय प्रविधियुक्त ल्याव, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इर्मजेन्सी सेवा सञ्चालन गर्ने गरि काम अघि बढीरहेको प्रुमख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा ६ थान मेशिन समेत प्राप्त भएको जानकारी दिए ।

नगरपालिकाले कानूनी संरचना तयार पारेर नगरअस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहिदिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह १ जना, मेडिकल अधिकृत आठौँ  तह २ जना, ल्याव टेक्नोलोजिष्ट सातौँ तह १ जना  र रेडियोग्राफर पाचौँ तह १ जना माग गरिएको छ । 

अस्पतालका लागि आवश्यक उपकरणहरु स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हातहरुबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले यस अस्पताल पुर्णरुपमा सञ्चालनमा आएपछि नीजि अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताए ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टीका विषयहरुलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्वी गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगरअस्पतालको निर्माणधिन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिनु भएको थियो । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रा.लिले ५ करोड, ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।