२८ वैशाख २०८१, शुक्रवार

विद्यालयको माथ्लो तहमा गुणस्तर खस्किदै गएको विषयमा छलफल

१३ पुष २०७९, बुधवार
Image

विर्तामोड, १३ पुस । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धिसमेत घट्दै गएको बताएका हुन् ।

स्थानीय निकायले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्याउनु, बाल विकासको व्यवस्थापनमा स्थानीय निकायले ध्यान नदिनु, राजनीतिक दलका जिम्मेवार पदमा शिक्षक रहनु, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको दैनिक उपस्थितिको लेखाजोखा नहुनु तथा शिक्षकमा नयाँ नयाँ ज्ञान र सीपसहित प्रविधिमैत्री बन्न नसक्नुले पनि सामुदायिक विद्यालयको सिकाई उपलब्धि अपेक्षा गरिए अनुसार हुन नसकेको औंल्याइएको छ ।

प्रतिनिधि सभा सदस्य प्राडा केआर खम्बूको प्रमुख आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपााल झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । विराट सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा भएको कार्यक्रममा मोहनप्रसाद ओली, युवराज पाण्डे र टंक सेढाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओलीसहित झापाका स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सञ्चालन विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले गरेका थिए ।

(साझा मञ्चबाट)