१४ वैशाख २०८१, शुक्रवार

बिर्तामोड नगर अस्पतालकको सबै सेवा माघदेखि नयाँ भवनबाट

१३ पुष २०७९, बुधवार
Image

बिर्तामोड, १३ पुस । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालको निर्माणाधीन भवन यही पुस २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गतेदेखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढाइएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

अस्पतालन नयाँ भवनमा सरेसँगै सेवा पनि थप हुने छन् । यहाँबाट स्वास्थ्य बीमा, दैनिक ओपीडी, उच्चस्तरीय प्रविधियुक्त ल्याव, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इर्मजेन्सी सेवा सञ्चालन हुनेगरी काम अघि बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा छ थान मेशिन समेत प्राप्त भएको जानकारी दिए ।

नगरपालिकाले कानूनी संरचना तयार पारेर नगरअस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहिदिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह एक जना, मेडिकल अधिकृत आठौँ तह दुई जना, ल्याव टेक्नोलोजिष्ट सातौँ तह १ जना र रेडियोग्राफर पाचौँ तह एक जना माग गरिएको छ ।

अस्पतालका लागि आवश्यक उपकरणहरु स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हातहरुबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले यस अस्पताल पुर्णरुपमा सञ्चालनमा आएपछि नीजि अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताए ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टीका विषयहरुलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्धि गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगरअस्पतालको निर्माणधिन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिइन् । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रा।लिले ५ करोड, ५० लाख सात हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

इजलास डटकमबाट