२८ वैशाख २०८१, शुक्रवार

वडाध्यक्षले बाढे विपन्न परिवारलाई न्यानो कपडा

१३ पुष २०७९, बुधवार
Image

शिवसताक्षी, १३ पुस । शिवसताक्षी नगरपालिका–४ ले ७५ जना विपन्न परिवारलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । 

वडा नम्बर ४ ले आदिवासी जनजाती समुदायका ७५ जना विपन्न परिवारलाई म्याट र कम्बल वितरण गरेको हो । 

वडा नं. ४ मा अधिकांश राजवंशी, ताजपुरिया र साह समुदायका मानिसहरु बसोबास गर्छन् । जाडोयाममा फुसको घरमा बस्ने वृद्धवृद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा वितरण गरेको छ । 

शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकाश योङ्हाङ्ग र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले उनीहरुलाई संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका थिए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईले वडाले आफ्ना नागरिकलाई चिसोबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गरेका थिए । नागरिकका लागि नजिकको सरकार नै वडा कार्यालय भएकाले आगामी दिनमा पनि आफ्ना नागरिकको आवश्यकतालाई मध्यनजर राखेर काम गर्न सुझाएका थिए । 

त्यस्तै लेखा प्रमुख योङहाङ्गले बाटो बनाउन, भवन बनाउनु मात्र विकास नभई आफ्ना नागरिकको ज्यान बचाउन गरेको भूमिका पनि महत्वपूर्ण रहने बताए । नागरिक रहे मात्रै भौतिक सुविधा उपभोग गर्न सकिने भएकाले नागरिकको हर तरहले सुरक्षा गर्नु स्थानीय सरकारको कर्तव्य रहेको उनको भनाई थियो । 

वडाध्यक्ष प्रसाईले जाडो मौसममा फुसको घरमा चिसो गुन्द्रिमा रात विताएको देखेपछि वडाले नागरिकको सुरक्षाका लागि सानो प्रयास गरेको बताए । विशेष गरेर वडा भित्रका विपन्न परिवारका वृद्ध वृद्धालाई लक्षित गरेर १ थान भुइमा ओछ्याउने म्याट र ओढ्ने कम्बल वितरण गरिएको बताए । 

वडामा रहेका करिव ५०० जना परिवारमध्ये अतिविपन्न ७५ जना परिवारलाई पहिलो चरणमा सामान्य राहत दिइएको प्रसाईले बताए । ‘अब केही दिनमा ज्येष्ठ बुबाहरुलाई ज्याकेट वितरण गरिने छ,’ उनले भने ।

न्यानो कपडा पाएपछि स्थानीय नारायण वाग्लेले वडाध्यक्षले निष्पक्ष तरिकाले काम गरेकोमा खुशी भएका थिए । ‘हामी जति यहाँ कपडा लिन आएका छौँ’, उनले भने–‘वडाध्यक्ष प्रसाई घर–घरमा पुगेर खबर गर्नु भएको थियो । वडाध्यक्षले वडाबासीको लागि राम्रो काम गर्नु भयो ।’