२८ वैशाख २०८१, शुक्रवार

होटल व्यवसायी संघको भवन बन्दै

१४ पुष २०७९, बिहिवार
Image

काँकरभिट्टा, १४ पुस । होटल व्यवसायी संघ मेचीनगरको भवन शिलान्यास गरिएको छ । 

बुधबार काँकरभिट्टामा बनिन लागेको २ तले भवनको मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

काँकरभिट्टा स्थित मनमोहन टोलमा संघले खरिद गरेको ६ धुर जग्गामा भवनको निर्माण सुरु गरिएको हो । भवन बनाउन ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले बताए ।

भवनको निर्माणका लागि मेचीनगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । ६ महिना भित्र भवन निर्माण सक्ने गरी ठेक्का लगाईएको अध्यक्ष श्रेष्ठले बताए । 

कार्यक्रममा मेयर बुढाथोकी, उपमेयर उप्रेती, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

‘कोरोनाका कारण होटल व्यवसायीहरु चौपट भएका छन्’, अध्यक्ष श्रेष्ठले भने–‘होटलहरु भर्खर काचुली फेर्ने क्रममा छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मेचीनगरका पर्यटकिय स्थलहरु घुमाउन सके काँकरभिट्टाका होटलहरुको आम्दानी हुने थियो । त्यसका लागि कृष्णथुम्की, पतालगंगा लगायतका नगरका धार्मिक तथा पर्यटकिय स्थलहरुको विकास गर्न आवश्यक छ ।’ 

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हस्तबहादुर तामाङले गरेका थिए ।