१२ वैशाख २०८१, बुधवार

‘हामी स्वयंसेवी’ अभियान सञ्चालन गर्न नगरप्रमुखको अध्यक्षतामा समिति गठन

१४ पुष २०७९, बिहिवार
Image

मेचीनगर, १४ पुस । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा “हामी स्यवम्सेवी” अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा गठन भएको समितिको सदस्य सचिव नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारी रहेका छन् । 

समितिका सदस्यहरुमा उपप्रमुख मिना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख ज्ञानकुमार महतो, सामुदायिक विकास मञ्च मेचीनगरका अध्यक्ष सोमनाथ ढकाल, पत्रकार अम्बिका भण्डारी, नेपाल स्काउट मेचीनगर समितिकी अध्यक्ष रिता थापा छन् । 

प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लामा लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर संयोजक नै तोकेर विभिन्न पालिकामा धमाधम समिति गठन गरिरहेको छ । 

नगरस्तरीय समितिमा  नगरप्रमुख अध्यक्ष, उपप्रमुख सदस्य, लागू औषध तथा विपद व्यवस्थापनमा काम गर्ने संस्थाबाट, सम्बन्धित क्षेत्रका प्रहरी प्रमुख, पत्रकार, नेपाल स्काउटबाट एक÷एक जना सदस्य रहने र पालिकाको शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने अभियानको मन्त्रालयले निर्माण गरेको “कार्यविधि २०७९” मा उल्लेख छ । 

सोही अनुसार नै आज मेचीनगर नगरपालिकामा समिति गठन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले जानकारी दिए । 

समितिले आजै बैठक बसी अभियान सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ को दफा २४ र दफा २५ बमोजिमको विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति र हामी स्वयम्सेवी समूह गठन गर्न विद्यालयहरुमा पत्रचार गरी मन्त्रालयमा जानकारी गराउने निर्णय गरेको छ । 

समितिका अध्यक्ष बुढाथोकीले नगरपालिकाले समेत लागूऔषध नियन्त्रणका लागि कार्यविधि नै बनाएर कार्यक्रम अघि बढाइरहेको बेला प्रदेश सरकारको यस कार्यक्रमले थप सहयोग पुग्ने बताए । उनले सयौं बालबालिकाको भविष्य अन्धकार बन्दै गइरहेको बेला लागू औषध विरुद्धको जनचेतनामूलक कार्यक्रम प्रत्येक स्कुल र टोलटोल सञ्चालन गरिने बताए । 

नगर स्तरमा बनाइएका समितिले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्न समन्वय गर्ने उनको भनाई छ । 

नगरमा नगरप्रमुखको अध्यक्षतामा निर्माण भएको समितिले आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक तहका ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराउन आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए ।

कार्यक्रममा संयोजक रिजालले कार्यक्रमको प्रभावकारिता तथा गुणस्तरीयताका लागि मन्त्रालयको समन्वयमा जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा जिल्ला अनुगमन समिति निर्माण गरिसकेको बताए । 

यसैगरी, संयोजक रिजालले यस अघि विर्तामोड र भद्रपुर नगरपालिकामा समिति गठन गरिसकेको बताए । उनले जिल्लाको बुद्धशान्ति गाउँपालिका, दमक नगरपालिका र अर्जुनधारा नगरपालिकामा समेत समिति गठन गर्ने तयारी रहेको जानकारी दिए ।