४ जेठ २०८१, शुक्रवार

तरुलको महत्व बुझाउन बाहुनडाँगीमा “तरुल उत्सव” हुँदै

१४ पुष २०७९, बिहिवार
Image

प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा “तरुल उत्सव” हुने भएको छ । 

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो । 

हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । 

“हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्व हराउँदै गयो”, उनले भने, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”

उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताए ।

उनले बाहुनडाँगीबासीले दैनिक आउने जंगली हात्तीको हुलबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताए । उनले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताए । 

उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उनको भनाई छ । उत्सवको आयोजना मेचीनगर नगरपालिका–४ ले गर्ने उनले बताए ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।