१६ चैत २०८०, शुक्रवार

बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

१७ पुष २०७९, आइतवार
Image

मेचीनगर, १७ पुस । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् ।

मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका हुन् ।

सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ ।

हर्वल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० विगाह जग्गामा वहुउपयोगी औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेती सुरु गरेका छन् ।

चितवनबाट ४ लाख लेमनग्रास र सिट्रोलेनाका विरुवा ल्याइएको संस्थाका सञ्चालक समिति सदस्य कुन्दन निरौलाले बताए । यसलाई विस्तार गरेर निकट भविश्यमा मेचीनगर–१, ४ र ६ का करिव १०० विगाह जग्गामा खेती गरिने संस्थाको योजना छ ।

‘रोपेको तीन महिनामा यसले उत्पादन दिन थाल्ने छ’, निरौलाले भने–‘जेठदेखि भदौ महिना सम्ममा तयार हुन्छ । १ विगाहा खेतीमा ६ टनजति तेलका लागि औषधिजन्य घास उत्पादन हुनेछ । किसानबाट प्रतिकेजी ८ रुपैयाँले खरिद गरिने छ ।’

एकपटक रोपेपछि ७ वर्षसम्म यसले उत्पादन दिइरहने संस्थाको भनाई छ । संस्थाले किसानबाट खरिद गरेको उत्पादनलाई उद्योगमा प्रोसेसिङ गरेर तयार गरिएको कच्चा पदार्थ (तेल) लाई काठमाडौँमा बिक्री गरिने निरौलाले जानकारी दिए । सो तेल प्रतिलिटर १८ सयले बिक्री गरिने उनको दावी छ ।

सो तेलबाट सन्चो, ओखती लगायतका औषधिजन्य वस्तुहरु बन्ने बताइएको छ ।

संस्थाले आइतबार किसानहरुलाई भेला गरेर त्यस सम्बन्धी अन्तरक्रिया गरेको छ । हात्तीबाट पीडित किसानहरुले आफ्नो जग्गामा थोरैभए पनि धान खेती गरिरहेका थिए । आफ्नो जग्गामा वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका छन् । आम्दानी हुने हो की होइन भनेर चिन्ता लिएका थिए । 

किसानहरुलाई जडिबुटि खेती गर्न प्रोत्साहित गरेका संस्थाका अध्यक्ष राजु दाहाल, समिति सदस्य निरौलाले धान खेती भन्दा बढी आम्दानी हुने दावी गरेका छन् । संस्थाले किसानहरुको आम्दानीको ग्यारेन्टी गरिदिने समेत बताएका छन् । 

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, समाजसेवीहरु सनतकुमार अधिकारी, हरि उप्रेती, महेन्द्र मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

औषधिजन्य वनस्पती खेती विस्तार सम्बन्धीका विज्ञ दिपक नेपालले किसानहरुलाई प्रशिक्षण समेत दिएका थिए । 

महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत समितिका सदस्य कुन्दन निरौला र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।