४ वैशाख २०८१, मङ्गलवार

खेलकुद

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रंगशाला

२१ पुष २०७९, बिहिवार
Image

झापा, २१ पुस । नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीहरुले आफ्नो खेल जीवनको सुरुवाती दिनहरु मेची रंगशालामा बिताउनु भएको छ । फुटबल, एथेलेटिक्स, भलिबल, कबर्डी, कराँते, जुडो लगायतका कैयन बिधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्वर मेची रंगशाला पछिल्लो समय आफु चाहिँ वेवारिसेजस्तै बन्न पुगेको थियो ।

पञ्चायतमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन । दर्शक बस्न बनाइएका प्याराफिटहरु उप्किएर र रंग खुइलिएर उराठ भइसकेका थिए । 

वेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रंगशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रिय स्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ । अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रंगशालाको जीर्णोद्धार थालेको छ । 

झापाको साविक सदरमुकाम चन्द्रगढीको शान मेची रंगशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्ण रुपमा रंगशालाको चमक व्युँताउने अभियानमा जोडिएको छ ।

“कुनै बेला यो रंगशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो,” भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भन्नुभयो–“हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रंगशालाको मुहार फेर्ने काम गरिरहेका छौं ।”

अध्यक्ष ढकालसहित समितिका पदाधिकारीहरु दिनभरि रंगशालाको मैदानमा घाँस रोपिरहेका र प्याराफिटमा रंगरोगन गरिरहेका भेटिन थालेका छन् । समितिको महासचिव रहनुभएको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ समेत रंगशाला मर्मतसम्भार अभियानमा खटिने गर्नुभएको छ । 

श्रेष्ठले आफ्नो कार्यकालमै रंगशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताउनुभयो । रंगशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्याराफिट रंग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

अठार वर्ष त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरु कुनै फुटबलको गोल्डकप मेची रंगशालामा आयोजना भएका छैनन् । यहीकारण लामो अन्तरालमा हुन लागेको गोल्डकपलाई सफल बनाउन रंगशालालाई सिंगार्नु परेको खेलप्रेमी तथा भद्रपुर वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा बताउनुहुन्छ ।

“कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो, अहिले मृत सहरका रुपमा चर्चा गरिन्छ,” वडाध्यक्ष सुब्बा भन्नुहुन्छ–“भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रुपमा रहेको रंगशालालाई आकर्षक र चलायमान बनाउनु पर्छ भन्नेमा भद्रपुरबासीको साझा मत छ ।” 

भद्रपुरको रंगशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकरभिट्टा र दमकतिर फुटबलको गोल्डकप प्रतियोगिता हुन थालेका थिए । खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपाली मुलुककै सर्वाधिक पुरस्कार राशी राखेर अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताउनुभयो ।

भद्रपुर डेढ दशक अघिसम्म फुटबलको केन्द्र जस्तै थियो । राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुनुहुन्छ । उहाँ मेची रंगशालामै खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बन्नुभयो । तर, यहाँ चार दशक अघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन ।

भद्रपुरले इतिहास व्युँताउँदै डेढ दशकपछि फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापाको विर्तामोडमा वर्षेनी हुँदै आएको झापा गोल्डकपले आफ्नो यसवर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ ।

भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिकस्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रुपमा लिनुहुन्छ । “मेची रंगशालाको जिर्णोद्धारबाट सुरु भएको भद्रपुरबासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौं,” नगरप्रमुख पोखरेल भन्नुहुन्छ–“भद्रपुरमा केही हुँदैन, केही गर्न सकिदैन भन्ने जुन निराशा वर्षौदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रंगशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ ।”

(रासस)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।