१ असोज २०८१, मङ्गलवार

भीम सरको सुझाव

शिक्षकलाई घरपायक बस्न नदिनु, तलब दोब्बर दिनु

२२ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २१ पुस । पूर्व शिक्षक तथा राजनीतिज्ञ भीम खवासले सरकारी शिक्षा क्षेत्रको आमूल सुधारका लागि १४ बुँदे सुझाव सार्वजनिक गर्नुभएको छ ।

उहाँले आज साँझ सामाजिक सञ्जालमार्फत राखेको सुझावमा शिक्षकलाई घरपायक बस्न नदिने र अहिलेको तलबमान दोब्बर गरिनु पर्ने उल्लेख छ ।

ज्यामिरगढी माध्यमिक विद्यालयको प्रधान अध्यापकको रुपमा शिक्षण सेवाबाट निवृत्त खवास हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार समेत हुनुहुन्छ । उहाँ गत चुनावमा सो पार्टीको समानुपातिक सांसद्को उम्मेद्वार समेत हुनुहुन्थ्यो ।

‘शिक्षा बिना विकासको कल्पना गर्नु मुर्खता हुनेछ,’ उहाँले लेख्नुभएको छ–‘शासनमा गएकाहरुले मतैक्यतासाथ बुझेर निम्न कदमहरू चाल्नु पर्दछ । अनि नतिजा हेर्न सकिन्छ ।’

उहाँले शिक्षाका लागि ३० प्रतिशत बजेट छुट्याउनु पर्ने, शिक्षकलाई आवासको व्यवस्था गरिदिनु पर्ने, ट्युसन पढाउन दिन नहुने, राम्रो डिभिजन ल्याएकालाई मात्र शिक्षक पेशामा राख्नु पर्ने, विद्यार्थीलाई खाता किताब र खाजा निःशुल्क दिनुपर्ने, सार्वजनिक विदा घटाउनु पर्ने, मापसे गर्ने शिक्षकलाई निष्काशन गरिनु पर्ने, कार्य सम्पादन हेरे दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने, परीक्षा संयन्त्र अर्कै बनाउनु पर्ने, अभिभावकहरुसँग निरन्तर अन्तरक्रिया गरिनु पर्ने, थोरै विद्यार्थी भएका विद्यालयलाई मर्ज गरिनु पर्ने लगायतका सुझाव राख्नु भएको छ ।