१ असोज २०८१, मङ्गलवार

जनताको प्रश्न

नाली सारेर किन सडक साँघुरो बनाएको ?

२२ पुष २०७९, शुक्रवार
Image

धुलाबारी, २२ पुस । अरुतिर सडक फराकिलो बनाउँछन्, हाम्रातिर चाहिँ भएको सडकलाई नाली सारेर किन साँघुरो बनाउँछन् ?

मेचीनगर–१० को धुलाबारी चोकमै निर्माण भइरहेको भद्रपुर जाने सडकको बारेमा एक जना स्थानीय उपभोक्ताले फेसबुकमा गरेको प्रश्न हो यो ।

घटना पनि त्यस्तै छ । लोकतन्त्र पोस्टका प्रतिनिधिले धुलाबारी मोडमा दक्षिणतिर जाने सडकको निर्माण कार्य भइरहेको स्थानमा गएर हेर्दा पहिलै बनेको पक्की नालीलाई सारेर सडकलाई अझ साँघुरो पार्ने प्रयास भइरहेको प्रस्टै देखियो ।

धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर जाने प्रदेशस्तरीय सडकको नौ किलोमिटर भागमा बिगत चार वर्षदेखि कालोपत्रे भइरहेको छ । घोडामारादेखि खयरडाँगीसम्मको सडकमा एक किलोमिटर र दुईवटा कल्भर्ट बाहेक सबैतिर कालोपत्रे बिछ्याउने कार्य सम्पन्न भइसकेको छ ।

तर धुलाबारी मोडदेखि खयरडाँगीसम्मको एक किलोमिटर पुरानो कालोपत्रे रहेको क्षेत्रमा सडक पुनर्निर्माण कार्य भर्खरै सुरु हुँदा मोडमै सडकको नाली सार्ने प्रयास भइरहेको छ ।

चार वर्ष अघि बनेको पक्की नालीलाई सडकभित्र सार्नका लागि गहिरो खाडल खन्ने कार्य भइसकेको छ । दुबै किनारबाट यसरी नाली सारियो भने सडक लगभग ६ देखि ८ फिटसम्म जति साँघुरिने निश्चित छ ।

सामाजिक सञ्जालमा सडक निर्माण विवादास्पद ढंगले भइरहेको भन्दै आलोचना हुन थालेको छ भने मेचीनगर नगरपालिकाले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थितिमा विहीवार मेची उद्योग वाणिज्य संघको सभाहलमा यही विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।

सरोकारवाला र स्थानीयबासीको उपस्थिति अत्यन्त न्यून हुँदा सार्वजनिक सुनुवाई कार्यक्रम समेत निष्प्रभावी भयो । 

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल सडकलाई साँघुरो बनाउनु कसैको पनि हितमा नहुने बताउनुहुन्छ ।

तर, प्रदेश सरकारको बजेट र उतैको अनुगमनमा धुलाबारी–भद्रपुर सडकको निर्माण भइरहेको हुँदा यस बारेमा पूरा जानकारी नभएको उहाँको भनाई थियो ।