४ जेठ २०८१, शुक्रवार

धुलाबारी–भद्रपुर सडक (भाग २)

कालोपत्रे बन्यो विमानस्थल जाने सबैभन्दा छोटो सडक

२२ पुष २०७९, शुक्रवार
Image

झापा, २२ पुस । पूर्वीनाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको सात किलोमिटर भाग कालोपत्रे बनेको छ ।

भारत, भूटान तथा बंगलादेशबाट एशियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए तापनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टादेखि धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्रे रहेको थियो ।

प्रदेश नं. १ सरकारको गौरवको मुख्य परियोजनको रुपमा रहेको यो धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडकको बाँकी  दुई किलोमिटर खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा छन् ।  

पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा–विर्तामोड–चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा–चारआली–चन्द्रगढी सडकको २४ किलोमिटर लामो दूरी प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै छोटो पर्ने भएकाले अब काँकडभिट्टा–धुलाबारी–भद्रपुर सडक बढी प्रचलनमा आउन थालेको हो । 

धुलाबारी–भद्रपुर सडक बनेपछि स्थानीयवासी हर्षित छन् । दशकौं बर्षदेखि बन्ने चर्चा मात्र चले पनि प्रादेशिक सरकार निर्माण भएपछि सो सडक कालोपत्रे बनेको हो । मेचीनगर–१५ का दुर्गा बुढाथोकीले बिगतमा पिछडिएको क्षेत्रको रुपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्रे भएसँगै सुविधाजनक भएको बताउनुभयो ।

सो सडकको धुलावारीदेखि भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्रे निर्माणको ठेक्का २०७५ साल कात्तिक ७ गते हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु. २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेन । 

बहुवर्षीय योजना अन्तरगत बनेको सडकको धुलाबारी मोडदेखि भद्रपुर घोडामारासम्मको नौ किलोमिटर मध्ये सात किलोमिटर सडक पूर्णरुपमा कालोपत्रे निर्माण भइसकेको र दुई किलोमिटर भागमा कालोपत्रे गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताउनुभयो । 

प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने उहाँले जानकारी दिनुभयो । “कल्भर्टमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “काम दु्रत गतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णरुपमा निर्माण भइसक्छ ।”

रोङ जोड्ने सडक निर्माण सुस्त

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजावस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको २०७५ सालमा शिलान्यास गर्नुभएको थियो । 

भद्रपुर नगरपालिकादेखि इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलगअलग  निर्माण कम्पनीले ठेक्का लिएका थिए ।

ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकदेखि भद्रपुरसम्मको सडक निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ भने धुलाबारी मोडदेखि उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाई छ । 

इलामको रोङ जोड्ने सो सडक रु. ४६ करोड २३ लाख ८२ हजार ९८३ मा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ ।

सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकासिने प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले बताउनुभयो । उहाँले पूर्वी नाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकहरुलाई समेत सहज भएको बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।