८ वैशाख २०८१, शनिवार

खानेपानीको कार्यक्रममा मेयरले भने–‘नगरपालिकामा कर्मचारीतन्त्र हावी भयो’

२२ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २२ पुस । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शुक्रबार संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगरवासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउन अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघि बढिरहेको बताए । 

‘मेचीनगरमा रहेका तीन ठूला खानेपानी उपभोक्ता समितिले तीव्र गतिमा काम गरिरहेका छन् तर पनि अझै त्यो पर्याप्त हुन सकेको छैन,’  बुढाथोकीले भने- ‘हामी जनतालाई शुद्व खानेपानी खुवाउने अभियानमा खानेपानी संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं । पानीको संकट समाधान गर्छौ ।’ 

उनले मेचीनगरको तेलपानी, बाहुनडाँगी, ज्यामिरगढी क्षेत्रमा अझै पनि पानीको ठूलो समस्या रहेको बताए । ग्रामिण क्षेत्रका जनताले शुद्विकरण नगरी खोलाबाट ल्याएको पानी पिउनु पर्ने बाध्यता अझै विद्यमान छ । बुढाथोकीले भने, ‘नगरका ठूला तीनवटा खानेपानीले सहकार्य गरेर नगरवासीलाई खानेपानीको संकटबाट मुक्त गर्नुपर्छ ।’

जनतालाई केही वर्षभित्र शुद्व खानेपानी खुवाउने प्रतिवद्वता गरेका मेयर बुढाथोकीले मेचीनगरमा कर्मचारीतन्त्र हावी भएको बताउँदै निर्वाचित भएको ७ महिना वितिसक्दा पनि जनताको काम गर्न नसकेको स्वीकार गरे । 

‘जनप्रतिनिधिलाई कर्मचारीले टेर्दैनन्, केही जब्बर कर्मचारीका कारण जनप्रतिनिधि आलोचित बन्नु परेको छ,’ उनले भने-‘पटक पटक कर्मचारीलाई सम्झाइसकेँ अव मेरो धर्यताको बाँध टुट्यो ।’ आक्रोशित मुडमा देखिएका मेयर बुढाथोकीले कर्मचारी नसुध्रिए कारवाही गर्ने चेतावनी दिए । 

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इञ्जिनियर सुजित महतोले मेचीनगरका जनतालाई शुद्व खानेपानी पुर्याउन अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्वता व्यक्त गरे । 

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष पराजुलीले खानेपानी क्षेत्रमा गरिएका महत्वपूर्ण कामको प्रगति विवरण सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०५० सालमा काँकरभिट्टा बजार क्षेत्रमा ७०० घर धुरीलाई पानी वितरण गर्न २ लाख २५ हजार घन लिटरको टेंकीसहित सुरु भएको खानेपानी आयोजनालाई विस्तार गर्दै ७ हजार घर धुरीमा पुर्याएको र आगामी दिनमा त्यसलाई थप विस्तार गरिने अध्यक्ष पराजुलीले बताए । उनले सहलगानी खानेपानी तथा सरसफाइ आयोजना मार्फत भए गरिएका प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् । 

हाल मेचीनगर–२, ३,४, ५, ६,७ र ८ नम्बर वडामा जनतालाई शुद्व खानेपानी पुर्याउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमको अवसरमा खानेपानीले अवकास प्राप्त कर्मचारी नरबहादुर खड्का, वर्ष उत्कृष्ट ग्राहक टिकाराम कट्टेल, टिका थापा र सानुमाया चम्लागाईँलाई सम्मान गरेको छ । खानेपानीले नियमित शुल्क बुझाउने ३७ सय ५३ ग्राहक मध्येबाट गोलाप्रथा गरी तीन जना ग्राहकलाई सम्मान गरेको हो । 

वर्ष उत्कृट कर्मचारी सम्मान यामप्रसाद पोखरेलले प्राप्त गरेका छन् । समितिले उनलाई नगद ७ हजार र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । 

कार्यक्रममा संस्थाका सल्लाकार संयोजक हर्कबहादुर लिम्बू, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भीम कुवँर, मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला लगायतको आतिथ्यता रहेको थियो । 

उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिप सुब्बाले गरेका थिए ।