२६ वैशाख २०८१, बुधवार

आर्थिक अभावका कारण रमा भट्टराईको उपचारमा समस्या

२३ पुष २०७९, शनिवार
Image

बिर्तामोड, २३ पुस । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी ४२ वर्षीया रमा भट्टराई (रामप्यारी) लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो ।  

उनको दुई दिनदेखि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । 

९ बर्षअघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिलेसम्म अत्तो पत्तो छैन । ३ छोरी र १ छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग हार गुहार मागिरहेकी छन् ।

उनी ज्यालादारीमा अलैँची कटिङ गरेर आफ्नो छोराछोरीको पढाई खर्चसँगै घर चलाउँदै आएकी थिइन् । तर उनी अहिले थलिएसँगै बाल बच्चाको पनि पढाईसँगै घर खर्चमा समस्या भएको उनी बताँंछिन् ।  उनी करीब ४ बर्षदेखि बिरामी परेकी छन् । 

उनी हाल बिर्तामोड–५ स्थित व्यवसायी निर्मल भट्टराईको घरमा भाडामा बस्दै आएकी छन् । उनको दयनिय अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् । 

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफुलाई बचाइदिन अस्पतालको शैयाबाट सबैलाई आग्रह गरेकी छन् । 

व्यवसायी निर्मलका अनुसार सबै साथीभाईसहित आफन्तहरुले सहयोग जुटाएर अहिलेसम्म उनको उपचारमा करिव १५ लाख रकम खर्च भइसकेको छ ।  

चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्षअघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई बिराटनगर लगिएको थियो । 

उनको त्यो समस्या हटे पनि अहिले उनलाई फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, दायाँ पट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।  

बिष्टका अनुसार चिकित्सकले उनको उपचारका लागि अहिले ठुलो रकम लाग्ने बताएका छन् ।  

उनलाई क्यानसर नभए पनि फोक्सोमा गाँठाहरु रहेको चिकित्सकले बताएका छन् । उनको केहि रिपोर्टहरु आउँन बाँकी रहेको छ । पैसाको जोहो गर्न सके उनी चाँडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकको भनाई छ ।

अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन । रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । 

सहयोगका लागि बिरामी भट्टराईको छोरी मेनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको मोवाईल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सकिनेछ ।