८ जेठ २०८१, मङ्गलवार

साँघुरो पुलको मुखैमा भ्वाङ

२३ पुष २०७९, शनिवार
Image

भद्रपुर, २३ पुस । चन्द्रगढी विमानस्थलबाट पूर्वीनाका काँकरभिट्टा जाने भद्रपुर–धुलाबारी सडकस्थित हडिया पुलको मुखैमा भ्वाङ परेको दुई साता बितिसकेको छ ।
दिनहुँ सयौं सवारीका ठूला साधन, ट्याक्टर र मोटरसाइकल गुड्ने र सर्वसाधारणले ओहोरदोहोर गर्ने उक्त पुलको भ्वाङ टाल्नेतर्फ कसैले पहल गरेको छैन ।
‘पुलको पश्चिम मुखैमा ठूलो भ्वाङ परेको यतिका दिन भइसक्यो, सम्बन्धित निकायले केही चासो देखाउँदैन,’ भद्रपुर–९ निवासी समाजसेवी कम्पलाल राजबंशीले भन्नुभयो ।
कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिन सक्ने खतरा उत्पन्न भएको उहाँले जानकारी दिनुभयो । सरकारी निकायका मान्छेहरु पनि यही बाटो भएर हिँड्ने भएकाले भ्वाङ परेको थाहा पाएनन् होला भन्न नमिल्ने उहाँको भनाई छ ।
एक दशक अघि बनेको हडियाको सो पक्की पुल आफैमा जीर्ण र साँघुरो छ । दुईवटा सवारी साधन पुलमाथिबाट क्रस हुन मुस्किल पर्छ । त्यसमाथि झन् पुलको मुखैमा भ्वाङ परेपछि आवागमनमा अवरोध हुन थालिसकेको छ ।
भद्रपुर र मेचीनगरको सीमानामा पुल भएकाले एकले अर्कोलाई देखाउन सक्ने सम्भावना पनि नभएको होइन । तर भ्वाङ परेको भाग प्रष्टसँग भद्रपुर नगरपालिकाको क्षेत्रभित्र पर्दछ । 
सडक कार्यालयले समेत सो भ्वाङ टाल्नेतर्फ ध्यान दिनुपर्ने हो । भ्वाङ परेकै ठाउँ नजिक सो सडक निर्माण गर्ने व्यवसायीको ढुंगागिटी उद्योग र अलकत्रा पोल्ने कारखाना सञ्चालनमा छ । निर्माण कम्पनीले पनि भ्वाङ नदेखे झैं गर्दै आएको छ ।