२० वैशाख २०८१, बिहिवार

मेयरलाई दलको सुझाव

‘मिलाउनु’ कि ‘हटाउनु’, ‘गुनासो गर्दै नहिँड्नु’

२४ पुष २०७९, आइतवार
Image

मेचीनगर, २३ पुस । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको विवाद आन्तरिक रुपमा मिलाउन राजनीतिक दलका प्रमुख नेताहरुले सुझाव दिनुभएको छ ।

शुक्रवार काँकरभिट्टा खानेपानीको साधारणसभामा नगरका मेयर गोपाल बुढाथोकीले जब्बर प्रशासनले काम गर्न नदिएको गुनासो पोख्नु भएको थियो । उनले जब्बर कर्मचारीहरुलाई कार्वाहीको चेतावनी समेत दिनुभएको थियो ।

कहिँ नभएको जात्रा : कांग्रेस नेता बुढाथोकी

‘यसरी कर्मचारीविरुद्ध भाषण गर्दै हिँड्नु राम्रो होइन,’ नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी लोकतन्त्र पोस्टसँग भन्नुहुन्छ–‘मेयर आफै गुनासो गर्दै बाहिर भाषण गर्दै हिँड्ने हो भने जनताले गुनासो सुनाउन कहाँ जानु ?’

उहाँले मेचीनगरमा जनप्रतिनिधि र कर्मचारीबीच भइरहेको भनिएको विवादलाई ‘कहिँ नभएको जात्रा’को संज्ञा दिनुभयो । मेयर बुढाथोकीले यस्ता विषय आन्तरिक रुपमा मिलाउनु उचित हुने सुझाव दिदै उहाँले भन्नुभयो–‘आफ्नै कर्मचारीका विषयमा भाषण गर्दै हिँड्नु ठिक होइन ।’

टेर्दैनन् भने विदा गरिदिनु : एमाले नेता पोखरेल

नगरको सत्ताधारी दल नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोखरेलले जनप्रतिनिधिले भनेको नमान्ने कर्मचारीलाई कार्वाहीको भागिदार बनाउनु पर्ने धारणा राख्नु भएको छ ।

‘नीति नियममा नहिँड्ने अनि कार्यालय अवधिमा कार्यालयमा पनि बस्दैनन् भने ती कर्मचारीलाई मार्ग प्रशस्त गरिदिएकै राम्रो हुन्छ,’ एमाले नगर अध्यक्ष पोखरेलले भन्नुभयो–‘जनप्रतिनिधिलाई नै टेर्दैनन् र मान्दैनन् भने विदा गरिदिनु पर्छ ।’

रोग पुरानै हो : माओबादी नेता चिमरिया

नेकपा माओबादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले मेचीनगरमा कर्मचारी र जनप्रतिनिधिको खटपट नयाँ नभएको टिप्पणी गर्नुभएको छ ।

‘पहिले पनि यस्तै हुन्थ्यो, खाम्याङ २ वर्ष टिक्नु भयो होला । अरु त सात आठ महिनामै सरुवा भएर जान्थे,’ माओबादी नेता चिमरियाले भन्नुभयो–‘रोग पुरानै हो  । एउटालाई विदा दिएर अर्को चाहिँ राम्रै आउँछ भन्ने के ग्यारेन्टी ?’

उहाँले मेयरले समाधान निकाल्न नसकेको हो भने सर्वदलीय छलफलको आयोजना गर्न सुझाव दिनुभएको छ ।

मेचीनगरको समस्या जनप्रतिनिधि र कर्मचारीवीचको भन्दा पनि कर्मचारीभित्रको आन्तरिक लडाई हो कि भन्ने उहाँको आशंका छ ।

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।