१३ वैशाख २०८१, बिहिवार

प्रदेश १ : मुख्यमन्त्रीमा एमालेका कार्कीद्वारा दावी पेश

२४ पुष २०७९, आइतवार
Image

विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजेबाट सकिँदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।