१३ वैशाख २०८१, बिहिवार

प्रदेशको बागडोर सम्हाल्ने को हुन् हिक्मत ?

२४ पुष २०७९, आइतवार
Image

झापा, २४ पुस । प्रदेश नं. १ को चौथो मुख्यमन्त्री बन्नुभएको छ झापाका हिक्मतकुमार कार्की । 

नेकपा एमाले संसदीय दलको नेताको रुपमा उहाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुनुभयो । 

२०२३ साल असार ८ गते झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्व. बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा उहाँको जन्म भएको हो । 

अहिले उहाँको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।  उहाँको वाल्यकाल गौरादहमै वितेको र एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो । 

विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई उहाँ विद्यार्थी राजनीतिमा प्रवेश गर्नु भएको हो । १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी हुनु भएको थियो । उहाँका बुबा बमबहादुर समेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकै कारण राजनीतिमा आउन प्रेरित गर्यो । 

उहाँले २०३७ सालमा अनेरास्ववियू पाँचौको सदस्य लिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आइएल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा धरान आउनु भएको थियो । आइएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ २०४५ साल पुसमा नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनु भएको थियो । 

ल क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हँुदै उहाँ २०४६ सालको आन्दोलनमा सहभागी रहनु भएको थियो । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछि मुख्यमन्त्री कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलनको नेतृत्व गर्नुभएको थियो । 

त्यसबेला उहाँलाई काठमाडौँमा पक्राउ गरिएको थियो । उहाले कानुनमा स्नातकोत्तर तह (एलएलएम)को अध्ययन पूरा गर्नु भएको छ । अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ अध्यक्ष ३ कार्यकाल, बागमती अञ्चल कमिटी अध्यक्ष) निर्वाह गर्नुभयो । 

अनेरास्ववियूको केन्द्रीय सचिव कार्की २०५० सालमा निर्वाचित हुनु भयो, त्यसपछि उहाँले उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ २०५५ सालमा भदौ २७ गते १४ औ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियूको केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनु भयो । 

स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हाल्नु भएका कार्की विद्यार्थी विशेष जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नु भएको थियो । 

पार्टीको ५ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसंगै महत्त्वपूर्ण भूमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनु भएको छ । 

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरिसक्नु भएका कार्की संविधान अनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हाल्नु भएको थियो । 

करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरी २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिनु भएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ । प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिवृद्धि, सस्थागत सबलिकरण, अधुनिकिकरण र पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गर्नु भएको छ । 

सिमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बललाई समेत सबल र सक्षम बनाउँदै लैजानु पर्छ भनेर  सिमा सुरक्षाका निम्ति बीओपी निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गर्नु भएको थियो । संचार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरी समग्र सञ्चार क्षेत्रको विकासमा समेत उहाँको योगदान रहेको थियो । 

कार्की २०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा समेत झापा ५(१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मतसहित बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता समेत हुनुहुन्छ । 

देशका दुई ठूला कम्युनिस्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटि सदस्यका रुपमा रहनु भएका कार्की एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भूमिकामा हुनुहुन्छ ।