७ वैशाख २०८१, शुक्रवार

राजकपुर मेचीनगर फर्किए, तर हाजिर गर्न पाएनन्

२५ पुष २०७९, सोमवार
Image

मेचीनगर, २५ पुस । मेचीनगर नगरपालिकाबाट काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाई आज नगरपालिका फर्कनु भएको छ ।

तर, नगरपालिकाले उहाँलाई हाजिर गर्न दिएन । आज विहान कार्यालय समय भएपछि कार्यालय प्रवेश गर्नु भएको उहाँले उपप्रमुख मीना उप्रेतीसँग भेट गरेर हाजिर गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । 

उपप्रमुख उप्रेतीले फिर्ता पठाउने निर्णय भइसकेको हुँदा अहिले हाजिर गर्न मिल्दैन भनेर चौलागाईलाई फर्काइदिनुभयो ।

नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उहाँलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उहाँको अधिकारहरुसमेत खोसेको थियो ।

आज चौलागाई नगरपालिकामा हाजिर हुन आउँदा नगरप्रमुख गोपाल बुढाथोकी कार्यालयमा उपस्थित हुनुहुन्न थियो ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईले नगरपालिका बोर्डबाट आफुलाई हटाइएको निर्णयको प्रतिलिपी माग्नु भएको छ । उपप्रमुख उप्रेतीले दिउँसो नगरप्रमुख आएपछि सल्लाह गरौला भनेर चौलागाईलाई भन्नुभएको स्रोतले जनाएको छ ।

चौलागाई आफुलाई नगरबोर्डले फिर्ता पठाउन नसक्ने भन्दै अदालतमा जाने तयारीमा रहेको उहाँका निकटहरु बताउँछन् ।