१५ चैत २०८०, बिहिवार

चरा खोजकर्ता खरेल सम्मानित

२७ पुष २०७९, बुधवार
Image

मेचीनगर, २६ पुस । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले चरा तथा बन्यजन्तु संरक्षण अभियन्ता देबेन्द्र खरेललाई सम्मान गरेको छ ।

संस्थाको १५ औं साधारणसभाको अवसरमा आज खरेल लगायत अन्य व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।

चरा खोजकर्ताको रुपमा प्रख्यात मेचीनगर वडा नं.  निवासी खरेलले दुर्लभ हङ्रायो, हरित परेवा लगायतका चराको नेपालमा अस्तित्व रहेको पुष्टि गर्दै विभिन्न फोटो खिच्नु भएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु शिवकुमार दर्जी, पदमलाल खनाल, गोमादेवि गुरागाईँ, नरमाया तामाङ्ग र ढिन्डा मुन्डालाई नगद २ हजार रुपैयाँ राशी र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सबैलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड लेखा सुपरिवेक्षण समितिका संयोजक उप्रेती, जिल्ला सहकारी संघ, मेचीनगर समन्वय समितिका सचिव राजु दाहाल, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईं लगायत अन्य अतिथिसहित संस्थाका विभिन्न पदाधिकारीहरले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उप्रेतीले सहकारीका सिद्घान्तलाई मध्यनजर गरी पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न सके खासै समस्या नआउने बताउनुभयो । उहाँले सहकारीका सिद्घान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने स्मरण गराउनुभयो । 

संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र कर्मचारीले कहि कतै सानो त्रुटि गरे संस्थाप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले संस्थाका शेयर सदस्यहरुभन्दा बढि कर्मचारीहरुले संस्थाप्रति जिम्मेवार, अनुशासीत भएर लाग्नुपर्ने संयोजक उप्रेतीको भनाई छ । सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गर्नुभयो ।

विशिष्ट अतिथि जिल्ला सहकारी संघ, मेचीनगर समन्वय समितिका सचिव दाहालले अब सबै सहकारीहरु एकआपसमा नफुटी काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

संस्थाका अध्यक्ष भगिरथ राईले उद्घाटन सत्रको सभापतित्व गर्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७९ असार मसान्तको वासलात, पुँजी तथा दायित्व, सम्पति तथा जायजेथा, शीर्षक अनुसार निक्षेप कारोवार, निक्षेपको प्रकार र व्याज विवरण, शीर्षक अनुसाको कर्जा लगानीको अवस्था, कर्जाको प्रकार र व्याज विवरणलगायतका विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गाबहादुर लुइटेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिले यसअघि संस्थालाई दिएको सुझाव पूर्ण र केही आंशिकरुपमा कार्यान्वयमा आएको उहाँको प्रतिवेदनमा उल्लेख छ । 

संस्था व्यवस्थापक अनिता गुरागाईँले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजकुमार पराजुलीले शव्दमार्फत स्वागत गर्नुभएको थियो ।