१६ चैत २०८०, शुक्रवार

दर्जनौं साहित्यकर्मी पुरस्कृत, मेयर–उपमेयर अनुपस्थित

२६ पुष २०७९, मङ्गलवार
Image

भद्रपुर, २६ पुस । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल ५१ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कारद्वारा आज सम्मानित हुनुभएको छ ।

चन्द्रगढीको लेखनाथ पुस्तकालयमा आज उहाँलाई उक्त पुरस्कार अर्पण गरियो । 

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जयन्तीको उपलक्ष्यमा पुस्तकालयका अध्यक्ष हरिप्रसाद नेउपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । जसको प्रमुख अतिथि पिण्डेश्वर क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख डा. रमेश घिमिरे हुनुहुन्थ्यो ।

सो अवसरमा अग्रज साहित्यकार चूडामणि रेग्मी, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, रुद्र गौरी अम्विका ओली स्मृति प्रतिष्ठानका यज्ञराज ओली, नारायण ओली, विष्णुकुमार भट्टराई, साहित्य कला सङ्गमका अध्यक्ष विष्णु नेउपाने, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईं लगायतको उपस्थिति थियो ।

सोही कार्यक्रममा कवि शिरोमणि लेखनाथ साहित्य पुरस्कारबाट (१५हजार रुपैयाँ राशी) कवि मोक्ष खतिवडा, श्यामृकष्ण कामाक्ष श्रेष्ठ साहित्य पुरस्कारबाट कवि नूरज भट्टराई (१५हजार रुपैयाँ राशी) र तेज–राजा कुभिण्डेली कुसुम पुरस्कारबाट (११ हजार रुपैयाँ) साहित्यकार सरला चापागाईं पुरस्कृत हुनुभयो । 

भक्त–किरण साहित्य पुरस्कारबाट (५ हजार रुपैयाँ) कवि तुलसीप्रसाद भट्टराई र छन्दोवद्ध कवि सम्मानबाट (२ हजार एक सय रुपैयाँ) मीना अधिकारी पुरस्कृत हुनुभएको छ । 

पुरस्कार सम्मानको सुरुमै यस लेखनाथ पुस्तकालयबाट यसै साल आफ्नो प्रथम कृति लोकार्पण गराउने ५ जना स्रष्टाहरु क्रमशः इन्दिरा कुसुम, उमाकान्त पोखरेल, देवीप्रसाद आचार्य, गणेशप्रसाद भट्टराई तथा राजेन्द्र काश्यप अधिकारीलाई दोसल्ला, माला तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । 

चूडामणि रेग्मी झर्रोशैली सम्मानद्वारा दुई जोडी दम्पत्ति पुरस्कृत तथा सम्मानित हुनुभयो । १२ हजार ५०० रुपैयाँसहित घनेन्द्र शर्मा र धरणी शर्मा तथा यस्तै त्यति नै नगदराशीबाट शारदा कोइराला र मुनाकिरण कोइराला सम्मानित हुनुभएको हो । 

यति भब्य कार्यक्रममा निम्ता गरिए तापनि भद्रपुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिति नरहेको आयोजकको गुनासो सुनिएको छ ।