१६ चैत २०८०, शुक्रवार

प्रचण्डको दुई अवतार

जनसत्तामा शालिक तोडफोड र सत्तामा विदाको सुरुवात

२७ पुष २०७९, बुधवार
Image

झापा, २७ पुस । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जनसत्तामा पृथ्वीनारायण शाहको शालिक तोडफोड गरिएको थियो भने अहिले उहाँ नै प्रधानमन्त्री भएका बेला विदा दिन थालिएको संयोग मिलेको छ । उहाँको पार्टी नेकपा माओबादीले उसबेला देशभर पृथ्वीनारायण शाहका शालिक भत्काउने अभियान चलाएको थियो ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । 

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । लोकतन्त्र बहालीपछि पहिलोपल्ट सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको हो ।

आज पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ ।

इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । 

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।

झापामा कनकाईस्थित पृथ्वीनारायण शाहको शालिकमा पुष्पार्पण र विशेष कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।