१२ वैशाख २०८१, बुधवार

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

२७ पुष २०७९, बुधवार
Image

झापा, २७ पुस । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ ।

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यक पर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत हाइब्रिट जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताउनुभयो ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च -एसजेएफको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा. शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने बताउनुभयो ।

उहाँले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दुई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताउनुभयो ।

भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा। शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका राख्नुभएको थियो ।

सो अवसरमा मञ्चका नेपाल शाखा संयोजक प्रकाश सिलवालले ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तुबारे अवगत गराउनुभएको थियो ।