८ वैशाख २०८१, शनिवार

‘वाह’ भन्नलायक बन्दैछ अर्जुनधारा नगरपालिकाको परिसर

२८ पुष २०७९, बिहिवार
Image

शनिश्चरे, २ पुस । अर्जुनधारा नगरपालिकाले रु.४६ लाखको लगानीमा कार्यालय परिसरको सौन्दर्यकरण कार्य धमाधम गरिरहेको छ । 

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामका अनुसार वडा नं. ८ मा दाताले दिएको १५ कठ्ठा जग्गामा कार्यालय भवन बनिसकेको छ । त्यही भवनको परिसरलाई अहिले सौन्दर्यकरण भइरहेको हो ।

सौन्दर्यकरण अन्तर्गत परिसरको बीचमा आकर्षक पानीको फोहोरा निर्माण भइरहेको छ भने दक्षिण किनारामा जग्गादाता परिवारको प्रतिमा स्थापना गरिनेछ ।

आधुनिक उद्यान, बगैँचा, पार्किङ र सुरक्षा गार्ड कक्ष सौन्दर्यकरण परियोजनामा समेटिएको छ । उक्त परियोजना उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको छ ।

नगरका सूचना अधिकारी हिमराज सेढाइँले स्थानीयबासी विकास अधिकारीको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिले काम थालेको १५ दिन भइसकेको छ । गत पुस १३ गते उपभोक्ता समितिसँग परियोजना सम्पन्न गर्ने सम्झौता भएको सेढाइँले जानकारी दिनुभयो ।

“नगरपालिकाको कार्यालय परिसरमा आउने हरेक नगरबासी र पाहुनाले हेर्दा वाह भन्नेखालको हुनुपर्छ भनेर मेयरले भन्नुभएको छ,” सूचना अधिकारी सेढाईले भन्नुभयो–“सुरुवाती काम हेर्दा समितिले अपेक्षा गरिएभन्दा छिटो र राम्रो काम गर्ला जस्तो देखिएको छ ।”

नगरपालिकासँग भएको सम्झौता अनुसार उपभोक्ता समितिले आगामी २०८० जेठ मसान्तभित्र परियोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।