१२ वैशाख २०८१, बुधवार

मेचीनगरको विवादमा छ दलको इन्ट्री, हाजिर गराउन माग

२९ पुष २०७९, शुक्रवार
Image

मेचीनगर, २९ पुस । मेचीनगरको कर्मचारी र जनप्रतिनिधिबीचको विवादमा नगरका छ राजनीतिक दलले मोर्चाबन्दी गरेका छन् ।

विहीवार नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा, माओबादी, जसपा र रास्वपाका प्रतिनिधिले नगरपालिकामा संयुक्त ज्ञापन पत्र बुझाउँदै प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईलाई जिम्मेवारीमा बहाली गर्न माग गरे ।

नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत चौलागाईलाई काज फिर्ता पठाउने निर्णय गरेपछि जनप्रतिनिधि र कर्मचारीबीच छद्मयुद्ध चल्दै आएको छ । जसका कारण नगरका नियमित काम कार्वाही समेत प्रभावित बनेका छन् ।

छ राजनीतिक दलको ज्ञापन पत्रमा चौलागाईलाई हाजिर गराइनु पर्ने, नगरपालिकाको कामकाज सुचारु हुनुपर्ने, उत्खनन् भएका गिटीबालुवाको यथार्थ सार्वजनिक हुनुपर्ने, कृषि मण्डी नबन्नुको कारण सार्वजनिक गरिनु पर्ने, प्याराभिट्टा बसपार्क सञ्चालन गरिनु पर्ने लगायतका माग उल्लेख छन् ।

दलहरुको यो अग्रसरतापछि नगरपालिकाको आन्तरिक विवादमा अब राजनीतिक शक्तिहरुको इन्ट्री भएको छ । आन्तरिक विवादलाई नगरपालिकाले मिलाउनुको साटो भाषणबाजीमा नगर नेतृत्व नै उत्रिन थालेपछि समस्या सुल्झिनुको साटो झन् बल्झिने अवस्था आएको छ ।