८ वैशाख २०८१, शनिवार

इलामको दानाबारी जोड्ने सडकमा धमाधम कालोपत्रे

३० पुष २०७९, शनिवार
Image

दानाबारी, ३० पुस । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्रे भइरहेको छ । 

प्रदेश नम्बर १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु. २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ ।

यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकोले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । “दुर्गापुरदेखि दानाबारी पुग्न झण्डै दुई घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “अब सडकमा कालोपत्रे भएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ ।”

उहाँका अनुसार यो सडक कालोपत्रे गर्ने ठेक्का कनकाई मोतिदान जेभीले लिएको छ । वि।सं। २०७८ भदौ २३ गते ठेक्का सम्झौता भएको र आगामी वि।संं २०८० भदौ २२ मा निर्माण कार्य सम्पन्न गर्ने योजना छ ।

हाल प्रदेश सरकारले झापा र इलामका विभिन्न स्थानका दर्जन भन्दा बढी बहुबर्षीय योजनाका सडकमा कालोपत्र भइरहेको उहाँको भनाई छ । सो सडक निर्माणपछि दानाबारी क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामाग्री बजारीकरणका लागि सहयोग पुग्ने महमाई नगरपालिका– ३ का कुमार कार्कीले बताउनुभयो । 

उहाँका अनुसार यस अघि दानाबारीबाट खुदुनाबारी हुँदै विर्तामोड जाने सडक लामो दूरीको सडक यहाँका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।