१६ चैत २०८०, शुक्रवार

राजनीति

कैदीबन्दीका बालबच्चाकी ‘आमा’ अब उपसभामुख

७ माघ २०७९, शनिवार
Image

झापा, ७ माघ । कैदीबन्दीका बालबच्चाहरुकी ‘आमा’ इन्दिरा रानामगर आजदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधिसभाकी उपसभामुख बन्नु भएको छ ।

जीवनका ५२ वर्षे उकाली ओराली बिताइसक्नु भएको उहाँलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो ।

वुवा स्व. प्रताप रानामगर र आमा स्व. मनमाया रानामगरको कान्छी सुपुत्रीको रुपमा वि.सं. २०२७ मा झापाको अर्जुनधारामा जन्मनु भएकी उहाँले २२ वर्ष अघि दुई वटा कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थाल्नुभएको थियो ।

झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापादेखि पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

उहाँलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिनुभएको थियो । घर छाडेर काठमाडौंमा पढ्न जाँदा उहाँलाई पारिजातले नै संरक्षण प्रदान गर्नुभएको थियो । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उहाँले औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको उहाँका दाजु जगत रानामगरले बताउनुभयो । उहाँले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसक्नु भएको छ । उहाँकी एउटी छोरी सुविना राना हुनुहुन्छ ।  

पारिजातले सञ्चालन गरेको मानव अधिकारबादी संस्थामा उहाँले स्यवम्सेवक बनेर मानवीय सेवाको थालनी गर्नुभएको थियो । पारिजातसँगै कारागार जाँदा उहाँले कैदीबन्दीका दुःख र पीडा मात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाउनुभएको थियो । 

उहाँले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौ. लगायतका स्थानमा बाल संरक्षणगृह सञ्चालन गर्नुभयो । तिनीहरुलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गर्नुभएको उहाँले नै झापामा सञ्चालन गर्नुभएको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिनुभयो । 

बन्दी सहायता नेपाल (पीए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उहाँ लगातार बालअधिकार र मानवीय सेवामा लाग्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन हुँदा समेत उहाँ कुनै पार्टीमा हुनुहुन्थेन ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उहाँ सुरुमा अलमलिनु भएको थियो । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीति मार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उहाँ राजनीतिमा होमिनु भयो । छोटो अवधिमै रास्वपाले उहाँलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्यो । अब उहाँको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको शीर्ष दश ओहोदाभित्र पुग्न सफल हुनुभयो । उहाँ आफुलाई जहिल्यै भुइँमान्छेको रुपमा चिनाउनुहुन्छ ।

एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसद्को रुपमा आउँदा उहाँले आफु जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरुको आमाको रुपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिब्यक्ति दिनुभएको थियो । “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ,” उहाँले भन्नुभएको थियो–“हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैनथिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।” 

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उहाँको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उहाँले प्रतिष्ठित ‘अशोका फेलो’ पाउनुभयो । विभिन्न दाता र शुभचिन्तकहरुले उहाँको सत्कर्मलाई साथ दिदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उहाँले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाउनु भएन । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिनुभयो ।

सन् २००९ मा उहाँले ‘एसिया जनसेवा’ अवार्ड पाउनुभयो । सन् २०१४ मा उहाँले नोवेल पुरस्कार बिजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाउनुभयो । यी सम्मानहरुले उहाँको व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा सुवासित भयो ।

सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरुको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । नेपालकै ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउनु हुने रानालाई उपसभामुखको पदमा पुर्याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उहाँको नाम प्रस्ताव गर्नुहुने रास्वपाकी सांसद् सोविता गौतमले बताउनुभयो ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।