१ असोज २०८१, मङ्गलवार

एनप्याब्सन खेलकुद महोत्सव

जुनियर फूटबलको उपाधि सूर्योदयलाई

८ माघ २०७९, आइतवार
Image

मेचीनगर, ८ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) झापाको आयोजनामा हल्दीबारी गाउँपालिका स्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माविको खेल मैदानमा आयोजित अन्तर मावि जुनियर फूटबलको उपाधि सूर्योदय अंग्रेजी मावि काँकरभिट्टाले जितेको छ ।

सूर्योदयले खेल संयोजन गर्ने विद्यालय चिल्ड्रेन गार्डेनलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । 

सूर्योदयको जीतमा खेलको म्यान अफ दि सिरिज समेत रहेका जर्सी नम्बर १० का खेलाडी शिशिर थापाले खेलको १७ मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको थियो ।

सूर्योदयले जीतसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेत टिम चिल्ड्रेन गार्डेनले समेत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । खेलको तस्रो स्थानको लागि भएको खेलमा इष्ट होराइजन अंग्रेजी माविले दन्तकाली बोर्डिङ्ग स्कुललाई हराउँदै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विजेताहरुलाई प्रमुख अतिथि एवम् एनप्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई, जिल्ला उपाध्यक्ष प्रेम शेर्मा, जिल्ला सचिव ओमविक्रम नेम्बाङ्ग, जिल्ला कोषाध्यक्ष मोहन आचार्यले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले र सञ्चालन एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले गरेका थिए ।