१५ वैशाख २०८१, शनिवार

पर्यटन

सफलता पर्खिरहेछन् ‘वाटर किङडम’का राजकुमार

८ माघ २०७९, आइतवार
Image

झापा, ८ माघ । जोखिम मोलेर रिसोर्टमा ६० करोड लगानी गर्नुभएका उद्यमी राजकुमार संग्रौला पर्यटक चहलपहल बढ्ने आशामा हुनुहुन्छ ।

उहाँले शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा २०७७ सालदेखि प्रदेश नं. १ मै पहिलोपटक जिपलाइनसहित वाटर किङडम एन्ड रिसोर्ट प्रालि सञ्चालनमा ल्याउनु भएको छ ।

राजमार्गबाट ५०० मिटर दक्षिणमा रहेको यो रिसोर्टमा जिपलाइन सञ्चालन गरिएको एक वर्षपछि मात्र धरानमा जिपलाइन ल्याइएको थियो ।

यत्रो लगानी गरेर रिसोर्ट खोले लगत्तै मुलुकको पर्यटन क्षेत्र कोभिड–१९ को महामारीले थला पर्यो । उद्घाटन नहुँदै वाटर किङडम पनि महामारीको चपेटमा लपेटियो ।

‘जोखिम मोलेर एकल लगानीमा मैले रिसोर्ट खोलेको हुँ, आफ्नै जिल्लामा केही राम्रो काम गरुँ भन्ने उद्देश्यले,’ उहाँ भन्नुहुन्छ–‘तर, कोरोना महामारी र आर्थिक मन्दीको भीषण मार खेप्नु पर्यो ।’

कोरोना महामारी सकिए लगत्तै उद्घाटन भएको रिसोर्ट मुलुकमा आएको आर्थिक मन्दीको अर्को चपेटामा लपेटियो । बैंकहरुले कर्जा बन्द गर्नु र सर्वसाधारणहरुको क्रयशक्तिमा ह्रास आउनुले रिसोर्टमा मात्र होइन, मुलुकको सिंगो पर्यटन क्षेत्र थला पर्यो ।

सुरुदेखि नै प्रेस कोअर्डिनेटरको रुपमा रिसोर्टलाई सघाउनु भएको पत्रकार बिनोद सापकोटा उद्यमी संग्रौलामा अथाह धैर्य, लगन र मिहेनती भावना पाएको बताउनुहुन्छ ।

‘कोरोना महामारीको अप्ठेरो अवस्था झेल्नुपर्दा समेत उहाँ कहिल्यै निराश हुनुभएन,’ सापकोटा भन्नुहुन्छ–‘पर्यटन क्षेत्रमा हतारमा प्रतिफल खोज्नु हुँदैन भनेर राजकुमार संग्रौला सर भनिरहनु हुन्थ्यो । इमान र मिहेनतका साथ काम गरिरह्यो भने एकदिन सफलताको शिखरमा पुगिन्छ भन्ने उहाँको बलियो आत्मविश्वास छ ।’


तीन वर्षको यात्रा पार गरिसकेको यो रिसोर्ट अहिले झिलझिले वा शिवसताक्षीको मात्र नभएर प्रदेश नं. १ कै महत्वपूर्ण पर्यटकीय आकर्षणको केन्द्र बन्न पुगेको छ ।

आन्तरिक पर्यटक मात्र नभएर गत वर्ष यहाँ एक हजारभन्दा बढी विदेशी पर्यटक समेत घुमफिरका लागि आएको रिसोर्टका प्रबन्ध निर्देशक सौजनराज संग्रौला बताउनुहुन्छ ।

‘सुरुका तीन वर्ष हामीले आफ्नो अलग पहिचान स्थापित गरेका छौं,’ उहाँ भन्नुहुन्छ–‘अब विस्तारै मुलुकमा पर्यटकीय चलहलपहल लयमा फर्किएको छ । हामी आउँदा दिनमा रिसोर्ट पर्यटकहरुले भरिभराउ हुनेछन् भन्ने विश्वासमा छौं ।’

उहाँले मानिसहरु परिवारसहित वाटर किङडमलाई खोजेर र रोजेर आउन थालेको बताउनुभयो । विभिन्न प्रकारका उत्सव, कन्सर्ट र सम्मेलनहरु रिसोर्टमा हुन थालेको उहाँले जानकारी दिनुभयो ।

आगामी फागुन ५ गते राति रिसोर्टमा नेपालको प्रख्यात १९७४ एडी ब्यान्डको लाइभ कन्सर्ट सःशुल्क आयोजना हुने समेत उहाँले जानकारी दिनुभयो । फागुन १ देखि ५ गतेसम्म रिसोर्टमा आदिबासी संस्कृति उत्थान महोत्सव आयोजना हुनेछ ।

रिसोर्टमा रेस्टुरेन्ट, लज, स्पा, सेमिनार, स्विमिङ पुल, वेब पुल, पिकनिक स्पट, स्टेज प्रोग्राम लगायत चौधभन्दा बढी प्रकारका आतिथ्य सुविधा उपलब्ध छन् । स्टार होटलभन्दा कुनै पनि सुविधा यहाँ कम नभएको सञ्चालक राजकुमार संग्रौला बताउनुहुन्छ । 

विदेशमा पानीमा नुहाउने र खेल्ने लगायतका सुविधा भएको पर्यटकीय क्षेत्र देखेर आउनु भएको उहाँले स्वदेशमा पनि पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने सोचका साथ वाटर किङडम एन्ड पार्क रिसोर्टमा लगानी गरेको बताउनुभयो ।